
- पहाडमा केवल कांग्रेसको पालोमा उपलब्धि भएका छन्: डा मुनिष तामाङ
खरसाङ, 31 मार्च (हि.स.)। यसपालीको विधानसभा चुनाउमा कांग्रेस पार्टीले पहाडका तीनवटा विधानसभा आसनमा आफ्ना उम्मेदवारहरु उठाएका छन्। कांग्रेस पार्टीले दार्जिलिङबाट एमडी राई, खरसाङबाट सरोजकुमार खत्री र कालेबुङबाट सन्तकुमार प्रधानलाई चुनावी मैदानमा उतारेका छन्।
खरसाङमा आज कांग्रेस पार्टीको एक चुनावी सभा सम्पन्न भयो। सभामा कांग्रेस पार्टीको पश्चिम बंगाल राज्य उप सभापति डा. मुनिष तामाङ विशेष रूपमा उपस्थित रहेका थिए। यसरी नै कांग्रेस पार्टीको दार्जिलिङ जिल्लाका कार्यकारी सभापति एवं खरसाङका उम्मेदवार सरोजकुमार खत्री लगायत अन्य पदाधिकारीहरू पनि उपस्थित थिए।
सभापछि खरसाङमा पत्रकारहरुसित कुराकानी गर्दै डा मुनिष तामाङले यसपालीको विधानसभा चुनाउमा पहाडका तीनवटै आसनमा कांग्रेसले कुनै पनि राजनीतिक पार्टीसित गठबन्धन नगरी चुनाउ लडिरहेको बताए। उनले राज्यको 294 वटा सिटहरुमा नै उम्मेदवारहरु उठाइरहेको पनि जानकारी दिए। उनले सम्पूर्ण बंगाल र पहाडमा केवल दुईवटा राजनीतिक पार्टीहरु मात्र हावी भएको र जनताले दुवै पार्टीको विकल्प खोजिरहेको बताए।
उनले भने, पहाडमा भाजपा र तृणमूल कांग्रेस दुवै पार्टी छन् र दुवैबाट यहाँका मानिसहरुले केवल दु:ख पाएका छन्। यहाँका मुद्दाहरु छिन्नभिन्न भएका छन्।' उनले भाजपामाथि आरोप लगाउँदै भने, भाजपाले पहाडमा केवल झुटको राजनीति गरेको छ। पहाडमा पनि आफ्नो साम्प्रदायिक राजनीति गरेको हामी देख्छौँ। अर्कोतिर तृणमूल कांग्रेसले प्रशासनिक रुपमा केवल भ्रष्टाचार रहेको छ। यी दुवै पार्टीको विकल्पको रूपमा जनतालाई हामीले कांग्रेस पार्टी लिएर आएका छौँ। उनले कांग्रेस पार्टीको पालोमा मात्र पहाडमा राजनीतिक उपलब्धि, सामाजिक उपलब्धि भएको दाबी गरे।
हिन्दुस्थान समाचार / हनोक