
गान्तोक, 31 मार्च (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईलाई गरिबीमुक्त र उत्तम जीविकोपार्जनका लागि प्रतिष्ठित दीनदयाल उपाध्याय पञ्चायत सतत विकास पुरस्कार प्राप्त गरिरहेकोमा बधाई दिॅंदै निरन्तर सफलता र थप धेरै उपलब्धिहरूको कामना गरेका छन्। उनले वर्ष 2025 का लागि 'गरिबीमुक्त र उत्तम जीविकोपार्जन पञ्चायत' विषयमा गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईलाई उक्त पुरस्कार प्राप्त भएको आज सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।
मुख्यमन्त्रीले भने, 'यो उल्लेखनीय उपलब्धिले समावेशी विकास र दिगो जीविकोपार्जनलाई अगाडि बढाउन पञ्चायत र यसका जनताको समर्पण, दृष्टिकोण र सामूहिक प्रयासलाई प्रतिबिम्बित गर्दछ। यसले तृणमूल स्तरको शासन र ग्रामीण विकासलाई सुदृढ़ पार्न निरन्तर समर्थन, मार्गदर्शन र नीतिहरूलाई सक्षम पार्ने राज्य सरकारको सक्रिय भूमिकालाई पनि उजागर गर्दछ।'
मुख्यमन्त्रीले यो उपलब्धिले देशभरका अन्य पञ्चायत र समुदायहरूलाई उत्कृष्टता र जनता-केन्द्रित प्रगतिको लागि प्रयास गर्न प्रेरित गरोस् भनी कामना गरेका छन्। उनले गेजिङ ओमचुङ ग्राम पञ्चायत एकाईको निरन्तर सफलता र यस्तै धेरै उपलब्धिहरूका लागि शुभकामना व्यक्त गरेका छन्।
हिन्दुस्थान समाचार / बिशाल