एड्रिएल ग्याम्छो लिङदोङले बीएआई राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा उत्तीर्ण गरे
एड्रिएल ग्याम्छो लिङदोङ


गान्तोक, 10 अप्रेल (हि.स.)। ब्याडमिन्टन स्टेट अम्पायर एड्रिएल ग्याम्छो लिङदोङले ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआई) को प्रतिष्ठित राष्ट्रिय खेल नियन्त्रण मूल्याङ्कन परीक्षा सफलतापूर्वक उत्तीर्ण गरेका छन्। उक्त परीक्षाको आयोजना बीएआईले आन्ध्र प्रदेशको विजयवाडामा आयोजित वरिष्ठ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको अवसरको गरेको थियो।

ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) ले एड्रिएलको यस उपलब्धिप्रति खुशी प्रकट गर्दै हार्दिक बधाई दिएको छ। परीक्षा प्रक्रियामा अत्यन्तै कडा र प्रतिस्पर्धात्मक मूल्याङ्कन समावेश थियो, जहाँ उच्च अङ्क प्राप्त गर्ने उम्मेदवारहरूलाई मात्र राष्ट्रिय प्यानलमा समावेश गरिएको थियो। एड्रिएलले उत्कृष्ट प्रदर्शन गर्दै बीएआई राष्ट्रिय खेल नियन्त्रण प्यानलको लागि छनोट भएका सातजना सफल उम्मेदवारहरू मध्ये आफ्नो स्थान हासिल गरेका छन्।

बीएएसले भनेको छ, 'यो उपलब्धि सिक्किमको लागि गर्वको क्षण हो र यसले राष्ट्रिय स्तरमा राज्यका प्राविधिक अधिकारीहरूको बढ्दो स्तरलाई प्रतिबिम्बित गर्दछ। उनको सफलता ब्याडमिन्टन खेलप्रति उनको समर्पण, व्यावसायिकता र गहिरो प्रतिबद्धताको प्रमाण हो।' बासले एड्रिएललाई उनका भविष्यका सबै प्रयासहरूमा सफलताको कामना पनि गरेको छ।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande