गोर्खा सांस्कृतिक संस्थान् खरसाङद्वारा पद्मश्री वरिष्ठ लोक सङ्गीतकार नरेन गुरुङसहित चारजना अभिनन्दित
गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट पद्मश्री वरिष्ठ लोक संगीतकार नरेन गुरुङसहित चारजनालाई सम्वर्ध्दना


- हाम्रो लोक सङ्गीत समृद्ध छ, तर यसलाई संरक्षणको आवश्यकता छ: नरेन गुरुङ

खरसाङ, 14 अप्रेल (हि.स.)। गोर्खा सांस्कृतिक संस्थान् खरसाङको आयोजनामा आज खरसाङमा पहिलो वैशाख हर्षोल्लासका पालन गरियो। कार्यक्रमको शुभारम्भ भव्य सांस्कृतिक शोभायात्रा निकालेर गरियो, जुन खरसाङको नयाँ बजारस्थित डब्ल्युबीएनभीएफ खेल मैदानमा पुगेर एक सम्वर्द्धना कार्यक्रममा परिणत बनेको थियो।

सम्वर्द्धना कार्यक्रमको अध्यक्षता गोर्खा सांस्कृतिक संस्थान् खरसाङकी अध्यक्षा आशा मुखिया लामाले गरेकी थिइन् भने प्रमुख अतिथिको रुपमा पद्मश्री प्रापक पर्यावरणविद् एवं वैज्ञानिक डा एकलव्य शर्मा उपस्थित रहेका थिए। कार्यक्रममा विशिष्ट अतिथिका रुपमा गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा तथा विशिष्ट अतिथिको रुपमा वरिष्ठ साहित्यकारहरु डीएस दर्नाल, जीबी बल, युवराज काफ्ले उपस्थित थिए।

कार्यक्रममा सिक्किमका वरिष्ठ लोक सङ्गीतकार पद्मश्री प्रापक नरेन गुरुङ, वरिष्ठ लोक साहित्यकार शंकरदेव ढकाल, खरसाङ क्षेत्रकै सारंगीवादक प्रेम गन्धर्व र गोर्खा कर्मयोगी नारी आशा प्रधानलाई गोर्खा सांस्कृतिक संस्थान् खरसाङको तर्फबाट सम्वर्द्धना जनाइयो। अभिनन्दित व्यक्तिहरूलाई खदार्पणसहित शिर शोभा, सुनजडित खुकुरी र स्मृति चिन्ह अर्पण गरियो।

पद्मश्री वरिष्ठ लोक सङ्गीतकार नरेन गुरुङले आफ्नो सम्बोधनमा आफुले 2001 देखि लोक सङ्गीतमा लगातार काम गरेको र 2004 मा भारतको सङ्गीत नाटक अकादेमीले सम्मान जनाएको बताए। उनले भने, 'हाम्रो लोक सङ्गीत माधुर्यताले भरिएको छ। हाम्रो लोक सङ्गीत धनी छ। हाम्रो सोरठी, झ्याउरे, श्लोक सबै धनी छ, तर यसलाई संरक्षण र संवर्धनको आवश्यकता छ।'

कार्यक्रममा अभिनन्दित आशा प्रधानले पनि वक्तव्य राखेकी थिइन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande