
पहाडको शान्ति भङ्ग गर्न खोज्नुहुन्छ भने त्यस बेला मैले पनि कदम चाल्नुपर्नेछ - अनित थापा
दार्जिलिङ, 10 अप्रेल (हि.स.)। बिहिवार राति रेलिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका दुई कार्यकर्तामाथि भएको हमलाको भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका अध्यक्ष अनित थापाले निन्दा गरेका छन्।
उक्त घटनालाई लिएर आज जारी प्रेस विज्ञप्तिमा थापाले भने, 'मैले बारम्बार भनिरहेको छु कि शान्तिसँग चुनाउ लडौँ। हामीले पनि चाहेको भए झमेला गर्न सक्थ्यौँ, तर मैले बारम्बार सबैलाई सम्झाएँ कि यसरी अशान्ति फैलाउनु हुँदैन। हाम्रा समर्थक तथा कार्यकर्ताहरू पूरै आक्रामक भएका थिए। मैले सम्झाउँदै उनीहरूलाई थामेर राखेँ। यदि मैले खुला छोडिदिएको भए आज स्थिति फरक हुने थियो। उनीहरूले जुन व्यवहार देखाए, हामीले त्यस्तो व्यवहार देखाउनु हुँदैन। हामी कानुनअनुसार काम गर्नेछौँ।'
उनले अघि भने, 'हामीले धेरै दुःखकष्ट सहेर पहाडमा शान्ति व्यवस्था फर्काएका छौँ। हामी कानुनी लडाइँ लड्नेछौँ। नेताहरूका कारण साधारण जनताले दुःख नपाओस्। जनताले पनि ध्यान दिनुपर्छ कि नेताका निम्ति यसरी आफ्नो ज्यान जोखिममा हाल्नु हुँदैन। हिजो कसैको बहकाउमा आएर काटाकाट भएको होला, तर त्यसको परिणाम नेताले होइन, कार्यकर्ताले नै भोग्नुपर्छ। फेरि पुराना घटनाहरू दोहोरिन थालेको देखिँदैछ। हामी पछाडि फर्कने छैनौँ।'
थापाले भने, 'पहाडका मान्छेले बुझ्नुपर्छ कि भाजपाले आफ्नो झण्डा लगाएर यस्तो हिंसात्मक कार्य गर्दैछ भने भोलिको दिन के हुनेछ? हामी शान्ति चाहन्छौँ र शान्तिपूर्ण ढङ्गले चुनाउ पनि लड्नेछौँ । यसलाई निरन्तरता दिनुपर्छ। मेरा कार्यकर्तालाई हिंसा गर्न, तोड्न, जलाउन वा काट्न कदापि दिने छैन। शान्तिसँग चुनाउ लड्नुहोस्, भोट माग्नुहोस्, जित्नुहोस् र सरकार बनाउनुहोस्। यदि यो शान्ति भङ्ग गर्न खोज्नुहुन्छ भने त्यस बेला मैले पनि कदम चाल्नुपर्नेछ।'
---------------
हिन्दुस्थान समाचार / हनोक