
आसनसोल, 10 अप्रेल (हि. स.)। आसनसोलको जनसभामा प्रधानमन्त्री नरेन्द्र मोदीको हालैको बयानलाई लिएर तृणमूल कंग्रेसले कड़ा प्रत्याक्रमण गरको छ। गए बिहिवार अबेर राति आसनसोलको राहा लेनस्थित तृणमूल जिल्ला कार्यालयमा आयोजित सम्वाददाता सम्मेलनमा जिल्लाध्यक्ष नरेन्द्रनाथ चक्रवर्ती तथा आसनसोल उत्तरबाट पार्टी प्रत्याशी मलय घटकले प्रधानमन्त्रीका आरोपहरूलाई शिराबाटै खारेज गर्दै चर्को प्रतिक्रिया व्यक्त गरे।
जिल्लाध्यक्षले भने, प्रधानमन्त्रीले आफ्नो जनसभामा पछिल्लो 15 वर्षमा तृणमूलमाथि बंगाललाई “लुटेको” आरोप लगाए जुन पूर्ण रूपमा निराधार र राजनीतिक बयानबाजी हो। उनले भने, प्रधानमन्त्रीद्वारा बंगाल तथा यहाँका जनताविरूद्ध भनिएका कुराहरूको जति निन्दा गरे पनि कमै छ।
उनले केन्द्र सरकारमाथि आरोप लगाउँदै भने, एकातिर केन्द्रले बंगालको भागको दुई लाख करोड़ रुपियाँभन्दा अधिक फण्डलाई रोकेर राख्छ भने अर्कोतिर ठूल्ठूला वाचाहरू गर्छ। यसबाट स्पष्ट हुन्छ, केन्द्र सरकारले राज्यको विकासलाई बाधित गर्न चाहन्छ र मानिसहरूलाई सताइरहेको छ।
उनले भाजपाका आईटी सेललाई लक्षित गर्दै भने, बंगला भाषालाई “बंगलादेशी भाषा” बताउनु बंगाल र बंगाली समाजको अपमान हो। उनले आरोप लगाए, भाजपा नेताहरूको मनमा बंगाल र यहाँको संस्कृतिप्रति सम्मान छैन।
यसको साथै उनले भाजपा कार्यकर्ताहरूमाथि ईश्वर चन्द विद्यासागरको प्रतिमा भत्काएको तथा रविन्द्रनाथ टैगोर र बंकिम चन्द्र च्यटर्जी जस्ता महान व्यक्तिहरूको नामसम्म गलत ढंगमा प्रस्तुत गरेको आरोप समेत लगाए जसले उनको मानसिकतालाई दर्शाउँछ।
यता तृणमूल प्रत्याशी मलय घटकले पनि प्रधानमन्त्रीमाथि वाचाघातीको आरोप लगाए। उनले भने, प्रत्येक वर्ष दुई कड़ोर नोकरी दिने तथा हरेक व्यक्तिको खातामा 15 लाख रुपियाँ दिने जस्ता वाचाहरू अहिलेसम्म पूरा भएको छैन। यस्तो स्थितिमा नयाँ वाचाहरूमाथि जनताले कसरी विश्वास गर्नु ? जनताले अब सबैकुरा बुझिसकेका छन्, भाजपाका वाचाहरूमाथि भरोसा गर्ने छैनन्। उनले दाबी गरे, आगामी विधानसभा चुनाउमा पनि वर्ष 2021-मा जस्तै भाजपाले मुखभरिको जवाफ पाउनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा