दक्षिण बंगालमा सात डिग्रीसम्म बढ़्नसक्छ तापमान
दक्षिण बंगालमा सात डिग्रीसम्म बढ़्नसक्छ तापमान


कोलकाता, 10 अप्रेल (हि. स.)। चैत्र महिना समाप्त हुनसाथ पश्चिम बंगालका मानिसहरूलाई फेरि प्रचण्ड गर्मीको सामना गर्नु पर्नसक्छ। मौसम विभागानुसार सप्ताहन्तसम्म जाड़ोको प्रभाव समाप्त हुनेछ र आगामी तीन-चार दिनमा दक्षिण बंगालको अधिकतम तापमान लगभग सात डिग्रीसम्म वृद्धि हुनसक्छ।

प्राप्त जानकारी अनुसार शुक्रवारदेखि कोलकाता समेत दक्षिण बंगालमा वर्षा रोकिनेछ। तथापि उत्तर बंगालका पर्वतीय क्षेत्रहरूमा मेघ गर्जनसितै वर्षा जारी रहने सम्भावना छ। त्यहाँ पनि तापमान बढ़्ने आशंका छ। त्यसैले बंगला नववर्षको दिन पनि मानिसहरूलाई गर्मीको सामना गर्नु पर्नसक्छ।

पछिल्लो केही दिनदेखिको तीव्र हावा र वर्षा भइरहेकोले सारा पश्चिम बंगालमा तापमान घटेको थियो। तर शुक्रवारदेखि दक्षिण बंगालमा हावा-हुन्डरी कम हुनेछ। शनिवारदेखि सोमवारसम्म मौसम शुष्क रहने अनुमान छ भने तापमान 5-7 डिग्री सेल्सियससम्म बढ़्नसक्छ। सोमवारदेखि बुधवारसम्म गर्मी र आद्रतापूर्ण मौसम रहने सम्भावना व्यक्त गरिएको छ।

मौसम विभाग अनुसार शुक्रवार दक्षिण बंगालका पूर्व र पश्चिम मेदिनीपुर, झाड़ग्राम तथा दक्षिण 24 परगना जिल्लाका कतिपय स्थानहरूमा सामान्य वर्षा हुनसक्छ। यसबाट केही समयसम्म शीतल महसूस हुनेछ, तर आइतवारदेखि पुनः तापमान बढ़्न थाल्नेछ। कोलकातामा पनि हल्का चिसोको प्रभाव शुक्रवारदेखि समाप्त भएर तापमान बढ़्न थाल्नेछ। गए बिहीवार वर्षाको कारणले तापमान सामान्यभन्दा कम थियो, तर शुक्रवार बिहानदेखि आकाश सफा रहनको साथै अपरान्हमा आंशिक बाद लाग्नसक्छ। सप्तान्तमा वर्षा हुने सम्भावना छैन। आगामी सप्ताहको शुरुमा कोलकातामा पनि तापमान बढ़्नेछ साथै आद्रता पनि। आगामी 15 अप्रेलको दिन कोलकाता सहित राज्यका अधिकांश भागहरूमा गर्मी र असहज मौसम रहने सम्भावना छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande