भाजपा पञ्चायत सदस्यको घरमा बमबाजी, आरोप तृणमूलमाथि
भाजपा पञ्चायत सदस्यको घरमा बमबाजी, आरोप तृणमूलमाथि


कुचबिहार, 11 अप्रेल (हि.स.)। जिल्लाको दक्षिण विधानसभा क्षेत्रस्थित चाँदमारीमा गए राती भएको बम विस्फोटको घटनाले व्यापक रूपमा खैलाबैला मचायो। आरोप छ, भाजपाका ग्राम पञ्चायत सदस्य महेश्वर बर्मनको घरमा उपद्रवीहरूले हमला गरे। यति मात्र नभएर राती लगभग तीन बजे पुनः बमबाजी र लुटपाटको घटना घट्यो। घटनाको विरोधमा शनिवार भाजपा नेताहरूले कोतवाली थानामा प्रदर्शन गरी उपद्रवीहरलाई चाँड़ै पक्राउ गर्ने माग गरे। त्यसपछि एक प्रतिनिधिमण्डलले पुलिस अधीक्षकसित भेट गऱ्यो।

जानकारी मुताविक चाँदमारी क्षेत्रमा भाजपा उम्मेद्वार रथीन्द्रनाथ बसुको चुनावी कार्यक्रम प्रस्तावित थियो जसको शुरूआत पीड़ितको घरबाट हुनुथ्यो। यस अगावै भएको हमलालाई भाजपाले सुनियोजित बताएको छ। रथीन्द्रनाथ बसुले तृणमूल कंग्रेसमाथि आरोप लगाए, तृणमूलले हारको डरले उनका कार्यकर्ताहरूमाथि हमला गरिरहेका छन्। पुलिसले पनि निष्पक्ष ढंगमा काम गरिरहेको छैन।

यता तृणमूल कंग्रेसका जिल्ला अध्यक्ष एवं उम्मेद्वार अभिजित दे भौमिकले उपरोक्त आरोपलाई खारेज गर्दै यसलाई “राजनीतिक ड्रामा” बताए। उनले भने, यो पूर्ण रूपमा षड़यन्त्र गरेर रचिएको मामिला हो। यसो गरेर भाजपाले सहानुभूति बटुल्ने प्रयास गरिरहेको छ।

हाल क्षेत्रमा ठूलो संख्यामा पुलिस बललाई तैनाथ गरिएको छ। मामिलाको जाँच शुरू गरिएको छ। चुनावी माहोलमा यस किसिमको घटनाले आम मानिसहरूमाझ डर फैलाइरहेको छ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande