
सरकारले नबनाएपछि स्थानीयहरुको श्रमदानद्वारा यो पुल निर्माण गरिएको हो: अजय एडवर्ड्स
खरसाङ, 11 अप्रेल (हि.स.)। इण्डियन गोर्खा जनशक्ति फ्रण्टको केन्द्रिय संयोजक अजय एडवर्ड्सले आज स्थानीयहरुको श्रमदानमा निर्माण गरिएको मार्गरेट्स होपमुन्तिर बाँसघारी र कफीबारीलाई जोड्ने परिवर्तन पुलको उद्घाटन गरेका छन्। उक्त झोलुङ्गे पुल स्थानीयहरुले श्रमदान गरेर छ महिनामा निर्माण गरेको बताइएको छ।
झोलुङ्गे पुलको उद्घाटन कार्यक्रमलाई सम्बोधित गर्दै एडवर्ड्सले भने, यो परिवर्तन पुल स्थानीयहरुको श्रमदानद्वारा निर्माण गरिएको हो। यसको सम्पूर्ण श्रेय स्थानीयहरुलाई नै जान्छ। स्थानीय मानिसहरुले लामो समयसम्म यहाँ पुल निर्माणको लागि सरकारको आशा गरेर पर्खिरहे पनि सरकारले बनाइ दिएन। तर, स्थानीयहरुको श्रमदानद्वारा यो पुल निर्माण भएको छ। उनले खरसाङ विधानसभा समष्टिको लागि पार्टीकी उम्मेदवार बन्दना राईलाई भोट गर्न अपील गरे।
कार्यक्रमलाई उम्मेदवार बन्दना राईले पनि सम्बोधन गरेकी थिइन्। यस परिवर्तन पुलको उद्घाटनपछि स्थानीयहरुलाई धेरै सुविधा हुने अपेक्षा गरिएको छ।
हिन्दुस्थान समाचार / हनोक