
मुर्शिदाबाद, 11 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीको जनसभामा सामेल हुन गइरहेका केन्द्रिय राज्यमन्त्री शान्तनु ठाकुरको लस्कर शनिवार मुर्शिदाबादमा दुर्घटनाग्रस्त भयो। बहरमपुर थाना अन्तर्गत बलरामपुर क्षेत्रमा लस्करको एउटा वाहन ट्र्याक्टरसित ठोक्कियो जसले गर्दा दुवै वाहन क्षतिग्रस्त भयो।
प्रत्यक्षदर्शीहरू अनुसार यस भयानक ठक्करमा ट्र्याक्टरको अघिल्लो भाग पूर्ण रूपले क्षतिग्रस्त भयो भने लस्करको एउटा वाहन पनि क्षतिग्रस्त भयो। क्षतिग्रस्त वाहनमा मन्त्रीका सुरक्षाकर्मीहरू सवार थिए।
सूचना पाउनसाथ पुलिसले घटनास्थलमा पुगेर स्थितिलाई नियन्त्रण गरी जाँच शुरू गऱ्यो। प्रारम्भिक जाँचमा दुर्घटनाको कारण पत्तो लगाउनको लागि ट्र्याक्टर चालकसित जाँचबुझ गरिँदैछ। यो पनि जाँच गरिँदैछ, दुर्घटना तकनिकी खराबीको कारणले भएको हो वा मानवीय चूकको कारणले।
तथापि राहतको कुरा के छ भने यस दुर्घटनामा केन्द्रिय मन्त्री शान्तनु ठाकुर पूर्ण रूपले सुरक्षित छन् र उनलाई कुनै पनि प्रकारको चोट लागेको छैन। तर घटनापछि क्षेत्रमा केही समयसम्म तनाउ व्याप्त भयो।
चुनावी माहोलबीच केन्द्रिय मन्त्रीको लस्करसित भएको यस दुर्घटनाले सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ भने राजनीतिक गल्लीहरूमा पनि यसलाई लिएर व्यापक चर्चा भइरहेको छ।
उल्लेखनीय छ, शनिवार प्रधानमन्त्री नरेन्द्र मोदीका तीन वटा चुनावी सभाहरू प्रस्तावित छन्—पहिलो पूर्व बर्दवानको कालना, दोस्रो दक्षिण दिनाजपुरको कुशमण्डी र तेस्रो मुर्शिदाबादको रघुनाथगञ्जमा।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा