म आफ्नो जीतप्रति आशावादी छु र जनताको लागि काम गर्न तयार छु: अमर लामा
अमर लामा


खरसाङ, 11 अप्रेल (हि.स.)। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको खरसाङ विधानसभा समष्टिका उम्मेदवार अमर लामाले आफ्नो जीतप्रति आफु आशावादी रहेको बताएका छन्। उनले आफ्नो जीत पक्का पक्की रहेको दाबी गर्दै खरसाङ विधानसभा समष्टिका 16 वटै समष्टिहरुमा चुनावी प्रचार प्रसार र चुनावी सभाहरूमा सबैबाट राम्रो रेस्पोन्स पाएकाले आफु जीतप्रति आशावादी रहेको बताएका छन्।

उनले खरसाङमा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, चुनाउपछि मलाई खरसाङका जनताले सजिलै भेट्न सक्छन्, किनभने म खरसाङमै बस्नेछु र मेरो खरसाङमै कार्यालय हुनेछ साथै मिरिकमा पनि कार्यालय हुनेछ।' अमर लामाले अघि भने, विधायक बनेर गएपछि विशेष गरेर चियाबारी श्रमिकहरुको निम्नत्तम रोजगारको लागि काम गर्नेछु। साथै, सिन्कोना बगानका श्रमिकहरुको हाजिरा वृद्धि, सिन्कोना बगानको जमीनको मालिकनामा हक दिलाउन काम गर्नेछु।

उनले भने, खरसाङमा पार्किङको समस्या समाधान गर्न काम गर्नेछु, खरसाङ महकुमा अस्पतालको अपग्रेड गर्न काम गर्नेछु, युवाहरुका लागि स्पोर्ट्स अकादमी खोल्ने योजना छ। स्किल डेभलपमेन्ट इन्स्टिट्युट खोल्ने, रोहिणी र पेशोकमा प्राथमिक स्वास्थ्य केन्द्र निर्माण गर्ने, सुखे पोखरी खण्ड ठूलो भएकोले सोनादा क्षेत्रको लागि अलग्गै खण्ड बनाएर सोनादामा खण्ड कार्यालय बनाउने, सोनादामा अग्निशमन केन्द्र बनिरहेको अनि मङ्पु र तीनधारे क्षेत्रमा अग्निशमन केन्द्र निर्माण गर्न काम गर्नेछु।

एक प्रश्नको उत्तरमा अमर लामाले भने, आफु भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय महासचिव पनि भएकाले पार्टीको सांगठनिक गतिविधिको लागि महासचिव साथै विधायकको रुपमा पनि काम गर्न तयार रहेको बताए। एक अन्य प्रश्नको जवाफमा उनले खरसाङ विधानसभा समष्टिका सबै सातजना उम्मेदवारहरुसित उनको प्रतिस्पर्धा रहेको बताए।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande