पीएम श्री कस्तुरबा गान्धी बालिका विद्यालय युक्सम-टाशीडिङ निर्वाचन क्षेत्रको गौरव: मन्त्री भोटिया
पीएम श्री कस्तुरबा गान्धी बालिका विद्यालय


गेजिङ, 11 अप्रेल (हि.स.)। गेजिङ जिल्ला अन्तर्गत लबिङस्थित पीएम श्री कस्तुरबा गान्धी बालिका विद्यालय (केजीवीबी) मा आज विभिन्न शैक्षिक तथा सांस्कृतिक कार्यक्रमहरूका साथ कस्तुरबा जयन्ती मनाइयो। कार्यक्रममा पर्यटन तथा नागरिक उड्डयन विभाग मन्त्री छिरिङ टी. भोटिया मुख्य अतिथिको रूपमा उपस्थित थिए।

एक दिवसीय समारोह विद्यालय परिसरमा विद्यार्थीहरूले राखेका विभिन्न स्टलहरूको मन्त्री भोटियाद्वारा भ्रमणबाट शुरु भयो। यी स्टलहरूमा कला र शिल्प, विषय-आधारित परियोजना प्रदर्शनीहरू र अन्य शैक्षिक गतिविधिहरू प्रदर्शन गरिएका थिए।

मन्त्री भोटियाले आफ्नो सम्बोधनमा विगत १४ वर्षमा निरन्तर शैक्षिक उत्कृष्टता र विभिन्न क्षेत्रहरूमा सक्षम मानव संसाधन तयार गरेकोमा विद्यालयलाई बधाई दिए। उनले केजीवीबी लबिङलाई जिल्लाकै सबैभन्दा राम्रो प्रदर्शन गर्ने शैक्षिक संस्थानहरू मध्ये एक रहेको उल्लेख गर्दै विद्यालयलाई युक्सम-टाशीडिङ निर्वाचन क्षेत्रको गौरव बताए।

उनले कस्तुरबा जयन्तीको महत्त्वलाई प्रकाश पार्दै कस्तुरबा गान्धीको जीवन र विरासतमाथि प्रकाश पारे। उनले समाजका विपन्न वर्गहरू, विशेष गरी बालिकाहरूलाई सशक्त बनाउन संस्थाको भूमिकाको सराहना गरे। मन्त्रीले विद्यालयलाई सबै सम्भव सहयोगको आश्वासन दिॅंदै विद्यालयको खेल मैदानको स्तरोन्नति, शिक्षक अभावलाई सम्बोधन गर्ने र विद्यालयको पूर्वाधार सुधार गर्ने लगायत संस्थानले उठाएका मागहरूप्रति पनि सकारात्मक जवाफ दिए।

यस अतिरिक्त, उनले मुख्यमन्त्री प्रेमसिंह तामाङको नेतृत्वमा शिक्षा क्षेत्रलाई सुदृढ़ पार्न सिक्किम सरकारका विभिन्न पहलहरूमाथि थप प्रकाश पारे। उनले एमबीबीएस, व्यावसायिक पाइलट प्रशिक्षण, वैमानिकी, इन्जिनियरिङ र पशु चिकित्सा विज्ञान जस्ता क्षेत्रमा उच्च शिक्षाको लागि व्यापक अवसरहरू रहेको उल्लेख गरे भने आर्थिक रूपमा कमजोर विद्यार्थीहरूका लागि राज्य सरकारको सहयोग उपलब्ध रहेको बताए।

मन्त्री भोटियाले विद्यार्थीहरूलाई आफ्नो आकांक्षा पूरा गर्न प्रोत्साहित गर्दै आर्थिक रूपमा कमजोर वर्गले पनि राज्य सरकारको सहयोग मार्फत आफ्नो सपना पूरा गर्न सक्छन् भनी भरोसा दिलाए। उनले विद्यार्थीहरूलाई अत्यधिक फोन प्रयोग र असामाजिक गतिविधिहरूबाट टाडा रहन तथा उज्ज्वल भविष्यको लागि आफूलाई शैक्षिक उत्कृष्टतामा समर्पित गर्न सल्लाह दिए।

कार्यक्रममा विद्यालयको स्थापना र विकासमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मानित गरियो। यस क्रममा २०१२ मा विद्यालय स्थापना गर्नमा भूमिकाको लागि पूर्व मन्त्री डाउचो लेप्चालाई सम्मानित गरियो भने वर्तमान विधायक भोटियालाई उनको निरन्तर सहयोग र योगदानको लागि सम्मानित गरियो। यसैगरी, विद्यालयका उत्कृष्ट विद्यार्थीहरू र उत्कृष्ट प्रदर्शनकर्ताहरूसहित मेधावी विद्यार्थीहरूलाई प्रशंसा प्रमाणपत्र प्रदान गरियो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande