
दार्जिलिङ, 11 अप्रेल (हि.स.)। घुम जोरबङ्गलो महाविद्यालयका विद्यार्थीहरूमाझ आज अनलाइन गेमिङ प्रतियोगिता आयोजना गरियो। विभिन्न सेमिस्टरका विद्यार्थीहरूलाई लिएर आयोजना गरिएको यस प्रतियोगितामा चारवटा टिमका कुल बीसजना प्रतियोगीहरूले अंश ग्रहण गरेका थिए।
नक आउट मोडमा खेलाइएको यस प्रतियोगितामा दुई घण्टासम्म प्रतिस्पर्धा गरेपछि अनिशा अनि टीम उत्कृष्ट प्रदर्शन गर्दै विजय हासिल गर्न सफल बन्यो। प्रतियोगितामा विजयी दललाई ट्रफी साथै नगद राशि पनि प्रदान गरिएको थियो।
वर्तमान समय इन्टरनेट टेक्नोलोजीको समय हो साथै अहिलेका युवापीढी यस क्षेत्रमा धेरै आकृष्ट भएकाले विद्यार्थीहरूलाई महाविद्यालयको व्यस्त कार्यतालिकाबाट केही समयका निमित्त छुट दिन हेतु यस प्रकारको प्रतियोगिता आयोजना गरिएको बताइएको छ।
महाविद्यालयकी कोअडिनेटर हिमाञ्जली तामाङले अध्यक्षता गरेको कार्यक्रममा प्राध्यपक फुपु वाङ्दी भोटियाले प्रतियोगिताको सञ्चालन गरेकी थिइन्। कार्यक्रममा प्राध्यापकगण रनेस राई, जतिन थापा, सुरेन्द्र मणि प्रधान अनि सिद्धार्थ छेत्री आदिले निर्णायकको भूमिका निर्वाह गरेका थिए।
हिन्दुस्थान समाचार / हनोक