साउथफिल्ड कलेजकी प्रा डा. प्रतिष्ठा गुरुङलाई पीएचडी उपाधि प्राप्त
डा. प्रतिष्ठा गुरुङ


दार्जिलिङ, 11 अप्रेल (हि.स.)। दार्जिलिङको साउथफिल्ड कलेजको शिक्षा विभागकी शिक्षिका डा. प्रतिष्ठा गुरुङले डक्टर अफ् फिलोसोफी (पीएचडी) उपाधि प्राप्त गरेकी छन्। उनले कूचबिहार पञ्चानन बर्मा विश्वविद्यालयमा सफलतापूर्वक अन्तिम भाइवाको बचाव गरेपछि यो उपाधि प्राप्त गरेकी हुन्।

उनको शोधको शीर्षक “पश्चिम बङ्गालका पहाडी क्षेत्रहरूमा उच्च शिक्षामा महिलाहरूको पहुँच, सहभागिता र सफलता” रहेको थियो। यो शोध डा. सुनन्दिता भोमिक (शिक्षा विभाग, कूचबिहार पञ्चानन बर्मा विश्वविद्यालय) को निर्देशनमा सम्पन्न भएको थियो।

डा. गुरुङले दार्जिलिङको सेन्ट टेरेसाको स्कूलबाट स्कूली शिक्षा, लोरेटो कलेजबाट स्नातक तहको अध्ययन, रामकृष्ण बीटी कलेजबाट ब्याचलर अफ् एजुकेसन (बीएड) र विश्वभारती विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेकी हुन्। उनी हाल साउथफिल्ड कलेजको शिक्षा विभागमा कार्यरत छन्।

उपाधि प्राप्त गर्दै डा. गुरुङले आफ्ना सम्मानित सुपरवाइजर डा. सुनन्दिता भोमिक प्रति गहिरो आभार व्यक्त गरिन्। उनको असाधारण मार्गदर्शन, अन्तर्दृष्टिपूर्ण सुझाउ, निरन्तर प्रोत्साहन र अटल शैक्षिक सहयोगले नै यो शोध कार्य सफल भएको उनले बताएकी छन्।

यसैगरी, उनले आफ्ना पिता सेमन गुरुङ, माता मिनु गुरुङ, जेठी दिदी सुष्मा गुरुङ तथा सम्पूर्ण परिवारका सदस्यहरू, मित्रहरू र शुभेच्छुकहरूप्रति हार्दिक कृतज्ञता प्रकट गरेकी छन्। डा. प्रतिष्ठा गुरुङको यो सफलताले दार्जिलिङ तथा समग्र पहाडी क्षेत्रको शैक्षिक क्षेत्रमा गौरव थपेको छ।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande