
बाँकुड़ा, 12 अप्रेल (हि.स.)। आइतवार चुनावी प्रचारको क्रममा बाँकुड़ाको छातनामा आयोजित एक जनसभाबाट तृणमूल कंग्रेसकी प्रमुख तथा पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यानर्जीले भाजपालाई लक्षित गरिन्। उनले भनिन्, यसपालि उनीहरू (भाजपा) बलजफ्ती बंगालमाथि कब्जा गर्न चाहन्छन्, तर यस्तो कहिल्यै पनि सम्भव हुनेछैन।
ममता ब्यनर्जीले मानिसहरूसित अपील गर्दै भनिन्, जुन मानिसहरू कठिन समयमा विशेष गरी एसआईआर अवधि उनीहरूको साथमा थिएनन् उनीहरूलाई भोट नदिनु। उनले आरोप लगाइन्, भाजपा सारा देशमा एउटै पार्टीको शासन स्थापित गर्न चाहन्छ। उनीहरूले डिलिमिटेशन बील ल्याउने प्रयास गरिरहेका छन्। यस बिलको माध्यमबाट बंगाललाई टुक्रा-टुक्रा बनाउने षड़यन्त्र रचिँदैछ। मलाई थाहा छैन, कुन राज्यलाई कुन राज्यसित जोड़िनेछ। छातनाको यस सभाबाट ममता ब्यानर्जीले प्रधानमन्त्रीमाथि पनि प्रश्न उठाइन्।
उनले भनिन्, “ वर्ष 2014-को चुनाउपूर्व भनिएको थियो, हरेक व्यक्तिको ब्यांक खातामा 15 लाख रुपियाँ आउनेछ। त्यो पैसा कहाँ गयो? दुई कड़ोर नोकरी दिने वाचा गरिएको थियो, त्यसको के भयो?”
मुख्यमन्त्रीले चुनौती दिँदै भनिन्, “यदि मैले झुटो बोलिरहेकी छु भने मेरो कान काट्नुहोस्, म माफी माग्छु। यदि यो सत्य हो भने तपाईहरूले जवाफ दिनुपर्छ।” ममता ब्यानर्जीको उक्त बयानबाट चुनावी माहोल झन् बाफिएको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा