
कटिहार, 12 अप्रेल (हि.स.)। गए शनिवार अबेर साँझ कोढ़ा खण्डको बसगड़ा चौक निकट राष्ट्रिय राजमार्ग-31 मा द्रूत गति अनि नशाले 13 जनाको ज्यान लियो। यस दुर्घटनामा पूर्णियाबाट आइरहेको बसले पहिला दुईजना बाइक सवारहरूलाई कुल्चियो, त्यसपछि अगाड़िबाट आइरहेको पिकअपसित सोझै ठोक्कियो। दुर्घटनामा 10 जना महिला, 2 जना पुरूष र 01 जना बालिका सहित 13 जनाको घटनास्थलमै मृत्यु भयो। मृतकहरूमा 11 जना पूर्णिया र 2 जना कटिहार निवासी रहेको बताइएको छ।
मृतकहरूमा तलू सुरेन (48), राधिका हसदा (19), तेलमी देवी (40), पप्पू हसदा, तलपु सोरेन, ताना टुडू, बिटिका मराण्डी, पप्पू देवी, चिन्तामणि महतो (35), सदानन्द मुर्मू, दुर्गा बाशकी (60), रञ्जीता हेम्ब्रम (55) तथा एकजनालाई चिन्हित गरिँदैछ। दुर्घटनामा 32 जनाभन्दा अधिक मानिसहरू घाइते भएका छन् जसमध्ये 8 जनाको अवस्था गम्भीर रहेको बताइएको छ। गम्भीर रूपमा घाइतेहरूलाई पूर्णिया जीएमसीएचमा रेफर गरिएको छ।
प्रत्यक्षदर्शी इतबारी बासुकीले बताइन्, बसको गति अत्यधिक थियो भने ड्राइमर मातेको थियो। बसले पहिला बड़हरा कोठीबाट फर्किरहेका सदानन्द मुर्मू उपनाम राजेश (40) र उनको छोरालाई कुल्चियो। दुवैको घटनास्थलमा मृत्यु भयो। त्यसपछि अनियन्त्रित बसले झारखण्डको कठिया मेला हेरेर फर्किरहेका श्रद्धालुहरूले भरिएको पिकअपलाई ठक्कर दियो। यस भयानक ठक्करपछि शवहरू सड़कभरि छरिए।
पुलिस अधीक्षक शिखर चौधरीले बताए, सबै घाइतेहरूको उपचार भइरहेको छ। घटनाको सिलसिलामा एफआईआर दर्ता गरिएको छ। बस ड्राइभर पनि घाइते भएको छ, कानूनी कारबाही हुनेछ। जिल्लाधिकारी आशुतोष द्विवेदीले भने, मृतकहरूको परिवारलाई मुख्यमन्त्री राहत कोषबाट 2 लाख रुपियाँ सहयोग प्रदान गरिनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा