
जङ्गु, 12 अप्रेल (हि.स.)। जङ्गुको हि-ग्याथाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आज नि:शुल्क मेगा स्वास्थ्य शिविर सफलतापूर्वक आयोजन गरियो। शिविरको आयोजना क्षेत्र विधायक एवं मन्त्री पिन्चो नामग्याल लेप्चाको मार्गदर्शन एवं समर्थनमा डेन्जोङ साङ्गे मनल्हा कमिटी र एसटीएनएम अस्पतालको संयुक्त तत्वावधानमा गरिएको थियो।
शिविरमा विस्तृत चिकित्सा परामर्श, औषधिहरूको निःशुल्क वितरण र निदान परीक्षण आदि जस्ता सेवाहरू उपलब्ध गराइएको थियो। बिरामीहरूमा अन्तर्निहित रोगहरूको पत्ता लगाउन, प्रारम्भिक निदान र समयमै चिकित्सा हस्तक्षेप सुनिश्चित गर्न विभिन्न परीक्षणहरू पनि गरियो।
शिविरमा जङ्गुका धेरै मानिसहरूले सेवाहरू लिए। यस पहलले बिरामीहरूलाई ठूलो राहत प्रदान गर्दै उपाचारका लागि गान्तोक वा अन्य ठाउँहरूको यात्रा गर्नुपर्ने आवश्यकतालाई उल्लेखनीय रूपमा कम गऱ्यो। यो पहलले सिक्किम सरकारको निवारक स्वास्थ्य सेवालाई प्रवर्द्धन गर्ने र गुणस्तरीय चिकित्सा सेवाहरू विशेष गरी दुर्गम र ग्रामीण क्षेत्रहरूमा पुऱ्याउने निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल