लाचेनमा फसेका चालकहरूको उद्धार शुरु, ११४ सवारी साधन सकुशल उद्धार
लाचेनमा फसेका चालकहरूको उद्धार शुरु, ११४ सवारी साधन सकुशल उद्धार


मङ्गन, 12 अप्रेल (हि.स.)। चुङथाङ-लाचेन मार्गमा सड़क अवरुद्ध भएपछि लाचेनमा फसेका अधिकांश पर्यटक सवारी साधनका चालकहरूलाई आज दुई दिनको निरन्तर प्रयासपछि डोङ्क्या ला पास हुँदै लाचुङ र त्यसभन्दा बाहिर सुरक्षित रूपमा बाहिर निकालिएको छ। मङ्गनका पुलिस अधीक्षक एलबी छेत्रीले पर्यटक र निजीसहित कुल ११४ सवारी साधनहरू डोङ्क्या ला हुँदै जिरो पोइन्ट-युमथाङ-लाचुङ-मङ्गनतिर प्रस्थान भएको जानकारी गराएका छन्।

मौसम अनुकूल रहेको खण्डमा बाँकी चालकहरू र उनीहरूका सवारी साधनहरूलाई पनि भोलि अथवा पर्सीका दिन निकालिने जानकारी दिइएको छ। भारतीय सेना, सिक्किम पुलिस, बीआरओ र आईटीबीपीको अथक प्रयास तथा चालक संघ, लाचेन जुम्सा, होटल संघ, अन्य पर्यटन सरोकारवालाहरू र स्थानीय जनताको सहयोग र समन्वयमा चालकहरूको उद्धार सम्भव भएको बताइएको छ।

सम्पूर्ण उद्धार कार्य पुलिस अधीक्षक छेत्रीको निर्देशन र पर्यवेक्षणमा गरिएको थियो। यसैगरी, चुङथाङका एसडीपीओ चन्दन छेत्री र उनको टोलीले स्थलगत समन्वयमा गरेका थिए। जिल्ला प्रशासन तर्फबाट उद्धार अभ्यास मङ्गनका जिल्लापाल अनन्त जैनले समन्वय गरिरहेका थिए।

भारतीय सेना, बीआरओ, सिक्किम पुलिस, आईटीबीपी र अन्य स्वयंसेवकहरू सम्मिलित सम्पूर्ण टोलीले प्रतिकुल मौसमका बावजुद सफलतापूर्वक मार्ग खुल्ला गरे, जसले गर्दा चालकहरूको सफलतापूर्वक उद्धार सम्भव भयो।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande