
पटना, 13 अप्रेल (हि.स.)। बिहारमा नयाँ सरकार गठनलाई लिएर राजनीतिक गतिविधिहरू तीव्र भएका छन्। सत्ताको समीकरणबीच लगातार बैठक अनि चर्चाहरूको सिलसिला जारी छ। यसै क्रममा मुख्यमन्त्री आवासमा पुगेका केन्द्रिय मन्त्री तथा जनता दल यूनाइटेड (जदयू)- का वरिष्ठ नेता ललन सिंहले मुख्यमन्त्री नीतीश कुमारसित लगभग एक घण्टासम्म बैठक गरे।
बैठकपछि ललन सिंह त्यहाँबाट जदयूका कार्यकारी राष्ट्रिय अध्यक्ष सञ्जय झाको आवासमा पुगे। सञ्जय झाको आवासमा भएको महत्वपूर्ण बैठकमा जदयू अध्यक्ष उमेश कुशवाह पनि उपस्थित भए। पार्टी सूत्रानुसार बैठकमा नयाँ सरकार गठन अनि सम्भावित मन्त्रीमण्डलको सूचीलाई लिएर गहन मन्थन भयो।
यसबीच बिहार सरकारका मन्त्री जमा खानले मुख्यमन्त्रीसित भेट गरेपछि पत्रकारहरूसित बातचित गर्दै भने, बिहारका अघिल्ला मुख्यमन्त्री त्यै हुनेछन् जसलाई नीतीश कुमारको आशीर्वाद प्राप्त हुनेछ। उनको यस बयानले राजनीतिक गल्लीहरूमा भइरहेका चर्चाहरूलाई अझ बढ़ाइदिएको छ।
यता निशान्त कुमार मन्त्रीमण्डलमा सामेल हुने सम्भावनामाथि सोधिएको प्रश्नमा जमा खानले भने, उनी वरिष्ठ नेता हुन्, त्यसैले उनी सरकारको अंग बनुन् भन्ने चाहना सबैको छ। तथापि उनले यो पनि स्पष्ट पारे, मन्त्रीमण्डलमा कसले ठाउँ पाउँछ- कसले पाउँदैन, अन्तिम निर्णय नीतीश कुमारले नै गर्नेछन्।
जानकारहरूको भनाइ छ, बिहारमा सम्भावित सत्ता परिवर्तनपूर्व लगातार आइरहेको नेताहरूको बयान तथा बैठकहरूले राजनीतिक हावा तातिएको छ। आगामी दिनमा सरकार गठनको सन्दर्भमा तस्वीर अझ स्पष्ट हुने आशा व्यक्त गरिँदैछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा