
बजाली (असम), 13 अप्रेल (हि.स.)। रंगाली बिहूको अवसरमा बजालीको पश्चिम कठालमुरीस्थित जोनाकी संघको तत्वावधानमा आज बिहान राज्य स्तरीय म्याराथन दौड़ प्रतियोगिता आयोजना गरियो।
पछिल्ला वर्ष सरह यस वर्ष पनि आयोजित यस प्रतियोगितामा राज्यका विभिन्न भागहरूबाट आएका खेलाड़ीहरूले उत्साहपूर्वक भाग लिए। यो दौड़ प्रतियोगिता आज बिहान लगभग 5:30 बजी पाटाचारकुचीबाट शुरू भएर नित्यानन्द चारिआल हुँदै पश्चिम कठालमुरीस्थित जोनाकी संघको प्रांगणमा पुगेर समापन भयो। लगभग 25 किलोमीटर लामो यस दौड़को उद्घाटन पाटाचारकुचीको प्रागज्योतिष क्लबका पदाधिकारी नितुल शर्माले गरे।
यस प्रतियोगितामा 29 जना प्रतिभागीहरूले भाग लिएका थिए जसमा गोलाघाट जिल्लास्थित खुमटाईका तीखेश्वर कुर्मीले प्रथम स्थान प्राप्त गरे भने मोरीगाउँ जिल्लाका सूर्य दास द्वितीय अनि गुवाहाटीका कुम्भ देउरीले तृतीय स्थान हासिल गरे।
यस प्रतियोगितामा प्रथमदेखि सातौं स्थानसम्मका विजेताहरूलाई आयोजक समितिको पक्षबाट नगद पुरस्कार प्रदान गरियो। रंगाली बिहूको उल्लासपूर्ण माहोलमा आयोजित यस म्याराथन प्रतियोगिताले स्थानीय मानिसहरूमा विशेष उत्साह उत्पन्न गरायो।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा