
कोलकाता, 13 अप्रेल (हि.स.)। पश्चिम बंगालमा चैत्रको अन्तिम दिनसितै गर्मीले आफ्नो शक्ति देखाउन शुरू गरिसकेको छ। आगामी दिनमा दक्षिण बंगालको ठूलो भागमा गर्मी अनि आद्रतापूर्ण स्थिति कायम रहने सम्भावना छ। मौसम विभागले 14-देखि 18 अप्रेलसम्म मानिसहरूलाई गर्मी अनि आद्रतादेखि सतर्क बस्ने सल्लाह दिएको छ।
अलिपुर मौसम विभाग अनुसार उत्तर-पश्चिम बिहारदेखि मणिपुरसम्म एउटा अक्ष रेखा विकसित भएको छ जुन समुद्र तलदेखि लगभग 0.9 किलोमीटरको उच्चतामा अवस्थित छ। यसको प्रभावले पश्चिम र उत्तर-पश्चिम दिशाबाट गंगाका मैदानहरूमा शुष्क हावा प्रवेश गरिरहेको छ जसबाट तापमान र आद्रता दुवै बढ़िरहेको छ।
मंगलवारदेखि आगामी आइतवारसम्म दक्षिण बंगालका पश्चिमी जिल्लाहरू क्रमैले पश्चिम मेदिनीपुर, झाड़ग्राम, पुरुलिया, बाँकुड़ा र पश्चिम बर्धमानमा गर्मी एवं आद्रतापूर्ण मौसम रहने चेताउनी जारी गरिएको छ। यस अतिरिक्त दक्षिण बंगालका अन्य जिल्लाहरूमा पनि तापमान बढ़्नको साथै हावामा नमी अधिक रहने हुनाले मानिसहरूलाई बढ़ी समस्या हुनसक्छ। हाल वर्षा हुने सम्भावना पनि व्यक्त गरिएको छ।
यता उत्तर बंगालका जिल्लाहरूको लागि हाल कुनै पनि चेताउनी जारी गरिएको छैन। आगामी तीन दिनसम्म त्यहाँको तापमान 3-4 डिग्रीसम्म बढ़्नसक्छ। त्यसपछि आगामी चार दिनसम्म तापमान स्थिर रहने अनुमान छ। दार्जीलिङ, जलाईपुगड़ी, कुचबिहार, अलिपुरद्वार, कालेबुङ, उत्तर दिनाजपुर र मालदा जिल्लामा लगभग प्रत्येक दिन हल्कादेखि मध्यम वर्षा तथा30-40 किलोमीटर प्रतिघण्टाको गतिले हावा चल्ने सम्भावना छ।
मौसम विभागले विशेष गरी बाल-बालिका अनि बुजुर्गहरूलाई सतर्क बस्ने सल्लाह दिएको छ।बिहान 11 बजेदेखि साँझ 4 बजेबीच चर्को घाममा बाहिर निक्लिनदेखि बच्ने अनि पर्याप्त मात्रामा पानी पिउने सल्लाह दिइएको छ, तिर्खा नलागे पनि।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा