
खरसाङ, 13 अप्रेल (हि.स.)। 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिको गौरी शंकरस्थित सार्वजनिक भवनमा आज भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक चुनावी सभा सम्पन्न भयो। सभामा प्रमुख अतिथिको रुपमा भागोप्रमो अध्यक्ष अनित थापा उपस्थित थिए।
उक्त चुनावी सभालाई सम्बोध गर्दै केन्द्रिय प्रवक्ता एसपी शर्माले भने, दिल्लीको चुनाउमा बीजेपीले महिलालाई हरेक महिना 25 सय दिन्छु भनेर घोषणा गरेको थियो। आज दिल्लीमा बिजेपीको सरकार छ। तर, आजसम्म 25 सय त के 25 रुपियाँ पनि दिएको छैन। यसरी बीजेपीले ढाँट्ने काम गर्छ।'
सभालाई सम्बोधन गर्दै पूर्व सांसद शान्ता छेत्रीले भाजपाले विगत 20 वर्षदेखि गोर्खा जातिलाई केही दिएन, तर केवल ढाट्ने काम गरेको आरोप लगाइन्। उनले जीटीए प्रमुख अनित थापाको राज्यकी मुख्यमन्त्रीसित राम्रो सम्बन्ध रहेको र अनित थापाको नेतृत्वमा पहाडमा विकास र शान्ति कायम रहेको बताइन्।
चुनावी सभालाई 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिका सभापति प्रेमेन्द्र गुरूङ, शित्तल रसाइली आदिले पनि सम्बोधन गरेका थिए।
उक्त चुनावी सभापछि पत्रकारहरुलाई सम्बोधन गर्दै 29 नम्बर खरसाङ गिद्ध पहाड समष्टिकस सभापति प्रेमेन्द्र गुरुङले यसपालीको चुनाउमा यस क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको उम्मेदवार अमर लामाले बिजय प्राप्त गर्ने कुरामा आशावादी रहेको बताए।
यस चुनावी सभामा सभासद श्याम शेर्पा, भागोप्रमोको केन्द्रिय उपाध्यक्ष सुवास प्रधान, केन्द्रिय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिका सभापति सुमन बम्जन, नारी शक्ति खरसाङ महकुमा समितिकी सभापति सबिता कार्की लगायत केन्द्रीय, महकुमा, समष्टि, ब्लक कमिटी, खरसाङ टाउन कमिटीका पदाधिकारीहरु उपस्थित रहेका थिए।
हिन्दुस्थान समाचार / हनोक