मणिपुरमा संयुक्त अभियान: उग्रवादी पक्राउ, बंकर ध्वस्त, हतियार जफत
मणिपुरमा संयुक्त अभियान: उग्रवादी पक्राउ, बंकर ध्वस्त, हतियार जफत


इम्फाल, 14 अप्रेल (हि.स.)। मणिपुरमा सुरक्षा बलहरूद्वारा बितेको 24 घण्टामा संचालित श्रृङ्खलावद्ध अभियानहरूमा एकजना उग्रवादीलाई पक्राउ गरिएको छ भने विभिन्न स्थानहरूमा बंकरहरूलाई ध्वस्त बनाउनको साथै प्रचुर मात्रामा हतियार अनि विस्फोटक जफत गरिएको छ।

मणिपुर पुलिसले असम पुलिसको सहयोगमा जिरीबाम जिल्लाका कमरांगा निवासी होदम रोमें सिंह उपनाम नाओबी (39)-लाई पक्राउ गऱ्यो जसलाई असमको होजाई जिल्लास्थित लंका थाना अन्तर्गत रूपनगरबाट पक्राउ गरिएको हो। पुलिस अनुसार पक्रा पर्ने व्यक्ति आरपीएफ/पीएलएका सदस्य हुन् भने जिरीबाम थानामा दर्ता एक मामिलामा सह-आरोपी पनि हुन्।

अर्को अभियानमा उखरुल जिल्लाको लितान थाना अन्तर्गत मोंगकोट चेपू गाउँमा सुरक्षा बलहरूले चार वटा बंकरहरूलाई नष्ट गरिदिए। घटनास्थलबाट 35 वटा खाली कारतूस पनि जफत गरियो।

यसै क्रममा कांगपोकपी जिल्लाको सैकुल थाना अधिनस्थ तिंगपिबुंग र लेप्लेन गाउँको बीचमा खोजी अभियान संचालन गरी सुरक्षा बलहरूले हतियारको भण्डार नै जफत गरे जसमा पाँच वटा देशी बोल्ट एक्शन सिंगल ब्यारल बन्दूक, तीन वटा पम्पी हतियार, एउटा 36 नम्बर ह्याण्ड ग्रेनेड, 7.62 मिमीको दुई वटा जिउँदो कारतूस, विभिन्न क्यालिबरका 50 वटा खाली कारतूस तथा एउटा चार्जर सहित दुई वटा रेडियो सेट सामेल छन्।

सुरक्षा अधिकारीहरूले बताए, क्षेत्रमा उग्र्वादी गतिविधिहरूलाई लगाम लगाउन तथा शान्ति कायम राख्नको लागि यस्तो अभियानलाई निरन्तरता दिइनेछ।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande