नेसाप सिक्किमले साहित्यिक र सांस्कृतिक कार्यक्रमका साथ वैशाखी पर्व पालन गऱ्यो

 
vaisakhi festival

गान्तोक, 14 अप्रेल (हि.स.)। नेपाली साहित्य परिषद् (नेसाप) सिक्किमले आज साहित्यिक एवं सांस्कृतिक कार्यक्रमका साथ भव्यरूपमा वैशाखी पर्व पालन गऱ्यो। नेसाप अध्यक्ष हरि ढुङ्गेलको अध्यक्षतामा आयोजित कार्यक्रममा पूर्व मन्त्री एवम् मुख्यमन्त्रीका सल्लाहकार कुङ्गानिमा लेप्चा मुख्य अतिथि थिए।

राजधानीको विकास क्षेत्रस्थित एससी भवनमा आयोजित वैशाखी पर्व दुई चरणमा सम्पन्न गरिएको थियो। पूर्वार्धमा साहित्यिक एवं सम्मान कार्यक्रम समावेश थिए भने उत्तरार्धमा सांस्कृतिक कार्यक्रम सम्पन्न गरियो। पूर्वार्धका कार्यक्रममा वर्ष 2025 को साहित्य अकादेमी पुरस्कारद्वारा अलङ्कृत प्रतिष्ठित साहित्यकार चन्द्रप्रकाश भट्टराईलाई अभिनन्दन गरियो। मुख्य अतिथि लेप्चाको बाहुलीद्वारा भट्टराईलाई अंगवस्त्र, स्मृति चिह्न, अभिनन्दन पत्र अर्पण गरियो। कार्यक्रममा अभिनन्दित साहित्यकार भट्टराईले आफ्नो संक्षिप्त सम्बोधन राखेका थिए।

मुख्य अतिथि लेप्चाले आफ्नो सम्बोधनमा सबैलाई नयॉं वर्ष 2083 को शुभकामना दिए। कार्यक्रममा उपस्थित विद्यार्थीहरूको ध्यान आकर्षित गर्दै उनले आफ्नो भाषा, संस्कृति र परम्पराहरूबारे जानकारी राख्नु आवश्यक रहेको बताए। उनले नेपालीलगायत भोटिया र लेप्चा समुदायका भाषा, संस्कृति र परम्पराहरूमा अतिक्रमण बढ्न थालेकोमा चिन्ता व्यक्त गरे। उनले आफ्नो अस्तित्वको संरक्षणका लागि सबै समुदायमा एकता र अखण्डताको आवश्यकतामा जोड दिए।

कञ्चनजङ्घा राज्य विश्वविद्यालय, गान्तोकका सहायक प्राद्यापक डा. कृष्ण सापकोटाले वैशाखी पर्वको महत्त्व र विशेषतामाथि वार्ता प्रस्तुत गरे। कार्यक्रममा एलिशा छेत्री, प्रेमनारायण प्रधान दिननाथ शर्मा र हेमराज अधिकारीले कविता पाठ गरेका थिए। नेसापकी कार्यकारिणी सदस्य उषा शर्माले सञ्चालन गरेकी कार्यक्रममा सभाध्यक्ष ढुङ्गेलले पनि सम्बोधन गरेका थिए।

उत्तरार्धको कार्यक्रम अन्तर्गत सांस्कृतिक प्रस्तुतिका क्रममा कलाकारहरूले कालजयी नेपाली गीतहरू प्रस्तुत गरेर उपस्थित सबैलाई मन्त्रमुग्ध बनाए। सिक्किमका उदीयमान युवा गायकहरू प्रितम राई, मिलन विश्वकर्म, प्रणिता छेत्री र मोणिका राईले पुराना नेपाली गीतहरू प्रस्तुत गरे।

हिन्दुस्थान समाचार / बिशाल


 rajesh pande