
गुवाहाटी, 14 अप्रेल, (हि.स.)। अहिलेघरि सम्पूर्ण राज्यभरि नै रंगाली बिहूको उत्साह अनि उल्लास छाएको छ। असमको जातीय पर्व रंगाली बिहूको पहिलो दिन आज गोरू बिहूको रूपमा मनाइँदैछ। यस अवसरमा कृषकहरूले आफ्नो गौधनलाई नदी, पोखरी वा जलाशयहरूमा स्नान गराउँछन् तथा परम्परागत रिती-थिती अनुसार उनीहरूको सुस्वास्थ्य र समृद्धिको कामना गर्दछन्। राज्यका गाउँ-गाउँमा आज गोरू बिहूको उत्साहपूर्ण माहोल देखिएको छ।
असमिया संस्कृतिका महत्वपूर्ण पर्वहरूमध्ये एक बहाग बिहूले अहिलेघरि गाउँ, नगर एवं शहरहरूलाई उत्सवमय बनाइरहेको छ। ढोल, पेपा र गगनाको गुञ्जनबीच युवक-युवतीहरू बिहू नृत्य औ गीतहरूमा मग्न छन्। चारैतिर बिहूको तयारी तथा आफ्ना प्रियजनहरूलाई उपहार स्वरूप बिहुवान (गमछा) दिने परम्परा निर्वाह गर्दै गरेको देखिँदैछ।
चैत संक्रान्ति (14 अप्रेल)-देखि शुरू हुने यो पारम्परिक पर्वले असमिया समाजको लागि विशेष महत्व राख्छ। उरुकाको आयोजन पश्चात आज गोरू बिहू मनाइँदैछ भने भोलि मानुह बिहू मनाइनेछ जसमा साना-ठूला सबैले एका-अर्काको आशीर्वाद लिनेछन् अनि सम्मान व्यक्त गर्नेछन्।
कृषि कार्यको शुरुआतसित सम्बन्धित यस पर्वमा प्रकृतिको उर्वरता अनि समृद्धिको कामना गरिन्छ। समयको गतिसँगै बिहूले आधुनिक स्वरूप ग्रहण गरेको भए पनि यसको पारम्परिक जरा आज पनि त्यतिकै बलियो छ। अहिलेघरि असमका सबै मानिसहरू चिन्ताहरूलाई भुलेर उत्साहको साथमा रंगाली बिहूलाई स्वागत गर्नको साथै उत्सवमा जुटेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा