
कोकराझार (असम), 28 अप्रेल (हि.स.)। असम विधानसभा चुनाउ 2026 अन्तर्गत मतगणना प्रक्रियालाई सुचारु, सठीक औ पारदर्शी ढङ्गमा सम्पन्न गराउने उद्देश्यले कोकराझार जिल्लामा आजदेखि मतगणना कर्मीहरूको प्रशिक्षण कार्यक्रम शुरू भयो।
प्रशिक्षण सत्र कोकराझार विश्वविद्यालय परिसरमा आयोजना गरियो जहाँ मतगणना पर्यवेक्षक, मतगणना सहायक तथा माइक्रो अब्जर्भरहरूलाई मतगणना प्रक्रियासित सम्बन्धित विभिन्न महत्वपूर्ण पक्षहरूको विस्तृत जानकारी गराइयो। प्रशिक्षणमा प्रतिभागीहरूलाई उनीहरूको जिम्मेवारी, कार्यप्रणाली तथा निर्वाचन आयोगको दिशानिर्देश बारे अवगत गराइयो।
यस अवसरमा रिटर्निङ्ग अफिसर एवं सहायक रिटर्निङ्ग अफिसरहरूले पनि प्रशिक्षण सत्रमा भाग लिएर उपस्थित कर्मीहरूलाई आवश्यक मार्गदर्शन प्रदान गरे। प्रशासनको पक्षबाट बताइयो, प्रशिक्षणको दोस्रो चरण आगामी 2 मईमा बिहान 10 बजेदेखि यसै स्थानमा आयोजना गरिनेछ।
यसपूर्व गए सोमवार डा. पी उदय प्रवीणको अध्यक्षतामा मतगणना तयारीहरूको समीक्षा बैठक आयोजना गरियो। बैठकमा अतिरिक्त जिल्ला आयुक्त, निर्वाचन अधिकारी, सहायक आयुक्त तथा सर्किल अधिकारी सहित अन्य वरिष्ठ अधिकारीगण उपस्थित थिए। बैठकमा मतगणना कर्मीहरूको प्रशिक्षण कार्यक्रम सहित अन्य तयारीहरूको समीक्षा गरियो।
उल्लेखनीय छ, असम विधानसभा चुनाउ 2026 को लागि मतदान राज्यभरि नै एक चरणमा गत 9 अप्रेलको दिन सम्पन्न भएको थियो जसको मतगणना आगामी 4 मईमा हुनेछ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा