
खड़गपुर, 28 अप्रेल (हि. स.)। खड़गपुर प्रौद्योगिकी संस्थानमा एकजना छात्रको रहस्यमय मृत्यु भएको थाहा लागेको छ। मङ्गलवार संस्थानको छात्रावासको एउटा कोठामा छात्रको शव भेटियो। यो घटना घट्नअघि पनि एकजना छात्रको मृत्यु भएको थियो जसले गर्दा परिसरमा चिन्ताको माहोल सृजना भएको छ। मृत छात्रको पहिचान सोहम हलदार (22)-को रूपमा भएको छ जो विद्युत एवं सञ्चार अभियान्त्रिकी विभागको चौथो वर्षका छात्र थिए। छात्रको घर उत्तर 24 परगना जिल्लाको बारासात क्षेत्रमा रहेको बताइएको छ।
पुलिस अनुसार सोहम पण्डित मदनमोहन मालवीय छात्रावासको कक्ष संख्या 329 मा बस्थे। मङ्गलवार बिहान अबेरसम्म पनि कक्षको ढोका नखोलिएको कारणले सुरक्षा कर्मीहरूलाई शङ्का लाग्यो। सूचना पाएर पुलिस घटनास्थलमा पुग्यो अनि ढोका भत्काएर भित्र प्रवेश गऱ्यो। कोठाभित्र छात्रको शव गलफन्दामा झुण्डिरहेको थियो। उसलाई बी.सी. राय चिकित्सालयमा लगियो जहाँ चिकित्सकहरूले उसलाई मृत घोषित गरिदिए। हाल पुलिसले मामिला दर्ता गरी जाँच शुरू गरेको छ।
उल्लेखनीय छ, यसअ्घि गत 18 अप्रेलमा पनि यसै संस्थानमा तृतीय वर्षका छात्र जयबीर सिंह दरिया (21)- को असामान्य परिस्थितिमा मृत्यु भएको थियो। तिनी विनिर्माण अभियान्त्रिकीका छात्र थिए र उसको शव परिसरको अटल बिहारी वाजपेयी छात्रावास सामु भेटिएको थियो। शवलाई पोस्टमर्टम गर्नको लागि पठाइएको छ। पुलिसले सम्पूर्ण मामिलाको जाँच गरिरहेको छ साथै सीसीटीभी फुटेजको पनि जाँच गरिरहेको छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा