
कोलकाता, 28 अप्रेल (हि.स.)। राज्यमा पछिल्लो केही दिनदेखि कायम प्रचण्ड गर्मीबीच मौसम विभागले राहतको सूचना जारी गरेको छ। विभागानुसार मतदानको दिन बुधवार कोलकाता सहित केही जिल्लाहरूमा हावाको गति लगभग 60 किलोमीटर प्रतिघण्टासम्म पुग्नसक्छ भने उत्तर बङ्गालका केही जिल्लाहरूमा घना वर्षा हुने सम्भावना रहेको छ।
आगामी तीन दिनमा अधिकतम तापमानमा ह्रास आउने अनुमान छ। प्रचण्ड गर्मीबीच तापमान केही घट्नाले मानिसहरूले राहत महसूस गरिरहेका छन्। मङ्गलवार बिहान कोलकाताको न्यूनतम तापमान 28.5 डिग्री सेल्सियस दर्ता गरियो जुन सामान्यभन्दा 2.3 डिग्री अधिक हो।
अलिपुर मौसम विभाग अनुसार दक्षिण बङ्गालका सबै जिल्लाहरूमा मेघ गर्जनसितै हल्का वर्षा अनि हुन्डरी आउने चेताउनी जारी गरिएको छ। उत्तर एवं दक्षिण 24 परगना, पूर्व मेदिनीपुर, पश्चिम बर्धमान तथा नदियामा हल्का पानी पर्नको साथै तीव्र हावा चल्नसक्छ। कोलकाता समेत दक्षिण बङ्गालका अन्य जिल्लाहरूमा हावाको गति 40-50 किलोमीटर प्रतिघण्टासम्म पुग्ने अनुमान लगाइएको छ।
बुधवारदेखि दक्षिण बङ्गालमा हावा-हुन्डरीको गतिविधि अझ बढ़्नसक्छ। त्यस दिन कोलकाता, हावड़ा, हुगली, उत्तर र दक्षिण 24 परगनामा हुन्डरीसितै पानी पर्ने सम्भावना अधिक छ। यस अतिरिक्त पश्चिम मेदिनीपुर, बाँकुड़ा, पूर्व औ पश्चिम बर्धमानमा पनि यस्तै स्थिति रहनसक्छ। मौसम विभागले दक्षिण बङ्गालका सबै जिल्लाहरूमा आगामी शनिवारसम्म हावा-हुन्डरी आउने चेताउनी दिएकोछ।
उत्तर बङ्गालमा पनि हाल हावा-हुन्डरीको क्रम जारी रहनेछ। दार्जीलिङ, कालेबुङ, जलपाईगुड़ी तथा अलिपुरद्वारमा मेघ गर्जनसितै वर्षा हुनसक्छ। उत्तर बङ्गालका विभिन्न जिल्लाहरूमा शुक्रवारसम्म कतै-कतै वर्षा हुनसक्छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा