
गान्तोक, 28 अप्रेल (हि.स.)। प्रधानमन्त्री नरेन्द्र मोदीले आज राजधानी गान्तोकको स्वर्ण जयन्ती मैत्री मञ्जरी पार्कस्थित अर्केडेरियमको भ्रमण गर्नेछन्। यसपछि, पाल्जोर स्टेडियममा सिक्किम राज्य स्थापनाको 50औं वार्षिकोत्सवको समापन समारोहमा भाग लिने छन्।
प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय भ्रमणमा सोमवार दिउॅंसो सिक्किम आइपुगेका छन्। हिजो प्रधानमन्त्रीले देवराली छेउ गञ्जु लामा द्वारदेखि लोकभवनसम्म रोड शो गरेका थिए। यस अवसरमा राज्यभरिबाट आएका मानिसहरूले प्रधानमन्त्री मोदीलाई हर्षोल्लासका साथ भव्य स्वागत जनाए। प्रधानमन्त्रीले पनि राष्ट्रिय राजमार्ग 10 मा लामबद्ध मानिसहरूलाई हात हल्लाउॅंदै अभिवादन गरे।
सिक्किम भ्रमणको आज दोस्रो तथा अन्तिम दिनको शुरुवात प्रधानमन्त्रीले बिहान राजधानीको स्वर्ण जयन्ती मैत्री मञ्जरी पार्कस्थित अर्केडेरियम भ्रमणबाट गर्नेछन्। यस उद्यानको उद्घाटन प्रधानमन्त्री मोदीले गत वर्ष मई महिनामा सिक्किम राज्य स्थापनाको 50औं वार्षिकोत्सवको अवसरमा भर्चुअल रूपमा गरेका थिए।
प्रतिकुल मौसमका कारण त्यस समय उनी सिक्किम आउन सकेका थिएनन्। उनी बागडोग्रा हवाई अड्डा, (पश्चिम बंगाल) सम्म आएर फर्किएका थिए। उनले बागडोग्राबाटै भर्चुअल रूपमा उक्त उद्यानको उद्घाटन गरेका थिए। यस पटक उनी राज्य स्थापनाको 50औं वार्षिकोत्सवको समापन समारोहमा सहभागी बन्दै उद्यानको भ्रमण गर्ने भएका छन्।
यसपछि, प्रधानमन्त्री राजधानीको पाल्जोर स्टेडियममा आयोजना हुने राज्य स्थापनाको 50औं वार्षिकोत्सवको समापन समारोहमा भाग लिनेछन्। प्रधानमन्त्रीले कार्यक्रमलाई सम्बोधन गर्नुका साथै 4000 करोड़ रूपियॉं भन्दो अधिकका विभिन्न परियोजनाहरूको उद्घाटन एवं शिलान्यास गर्नेछन्। यहॉंबाट उनी दिउॅंसो आफ्नो संसदीय क्षेत्र वाराणसी (उत्तर प्रदेश) प्रस्थान गर्नेछन् र एक विशाल महिला सम्मेलनमा भाग लिनेछन्।
हिन्दुस्थान समाचार / बिशाल