
गान्तोक, 28 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रधानमन्त्री नरेन्द्र मोदीको मार्गदर्शक मन्त्र 'सबका साथ, सबका विकास, सबका विश्वास' आज समावेशी विकास र सशक्तिकरणको प्रभावशाली माध्यम बनेको बताएका छन्, जसको विकासको धारा अन्तिम व्यक्तिसम्म पुगिरहेको छ। मुख्यमन्त्री आज राजधानीको पाल्जोर स्टेडियममा आयोजित सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको समापन समारोहलाई सम्बोधन गर्दै थिए। कार्यक्रममा प्रधानमन्त्री नरेन्द्र मोदी मुख्य अतिथिका रूपमा उपस्थित थिए।
मुख्यमन्त्री तामाङले आफ्नो स्वागत सम्बोधनमा प्रधानमन्त्री मोदीलाई सिक्किम राज्य स्थापनाको स्वर्ण जयन्तीको समापन समारोहमा उपस्थितिका लागि हार्दिक स्वागत जनाउॅंदै सिक्किमवासीहरूको तर्फबाट अभिनन्दन व्यक्त गरे। उनले गत वर्ष राज्य स्थापनाको स्वर्ण जयन्ती समारोहको उद्घाटनमा आफ्नो शारीरिक उपस्थिति दिन नसके तापनि प्रधानमन्त्रीले भर्चुअल माध्यमद्वारा आशीर्वाद प्रदान गरेको स्मरण गरे।
प्रधानमन्त्री मोदी 22 मार्च 2026 मा लामो समयसम्म सेवा गर्ने निर्वाचित सरकारको प्रमुख बनेको उल्लेख गर्दै मुख्यमन्त्रीले प्रधानमन्त्रीलाई हार्दिक बधाई एवं शुभकामना दिए। उनले भने, 'यस उपलब्धिले तपाईको सार्वजनिक जीवनमा लोकतान्त्रिक निरन्तरता, राजनीतिक संकल्पशिलता र भारतप्रति अटुट प्रतिबद्धताको उत्कृष्ट उदाहारण प्रस्तुत गरेको छ। तपाईले अथक उर्जा र अटल संकल्पका साथ राष्ट्रलाई अगाडि राखेर देशको सेवा गरिरहनु भएको छ, जुन एक सॉंचो कर्मयोगीको भावनाको प्रतीक हो।'
उनले प्रधानमन्त्री मोदीको दूरदर्शी नेतृत्वमा आज भारत वैश्विक मञ्चमा गौरवभाव र पूर्ण आत्मविश्वासका साथ उभिएको बताए। नारी सशक्ति वन्दन अधिनियमको उल्लेख गर्दै मुख्यमन्त्रीले यसलाई राष्ट्र निर्माणमा महिलाहरूको समान भागीदारीप्रति सशक्त उद्घोष बताए। उनले सिक्किमवासी यस प्रतिबद्धताको प्रशंसा एवं सम्मान गर्दै भन्दै उनले प्रधानमन्त्रीको यस परिकल्पनामा सहभागी रहेको बताए। यसैगरी, उनले प्राइड अफ् द हिल र बुद्धिस्ट सर्किट पहलको सराहना गर्दै यसमा सिक्किमलाई पनि सामेल गरेकोमा कृतज्ञता प्रकट गरे। यस अतिरिक्त, मुख्यमन्त्रीले विकसित भारत 2047 साकार रूप प्रदान गर्न सिक्किमले सार्थक योगदान दिने प्रतिबद्धता व्यक्त गरे।
उल्लेखनीय छ, प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिवसीय भ्रमणमा हिजो सिक्किम आएका हुन्।
हिन्दुस्थान समाचार / बिशाल