
कोलकाता, 09 अप्रेल (हि. स.)। भारतीय जनता पार्टी (भाजपा)-ले पश्चिम बंगालकी मुख्यमन्त्री ममता ब्यनर्जीविरूद्ध चुनाउ आयोग समक्ष सिकायत गर्दै उनको चुनाउ प्रचारमाथि निश्चित अवधिको लागि रोक लगाउने माग गरेको छ। पार्टीले आरोप लगाएको छ, मुख्यमन्त्रीका केही बयानहरूबाट केन्द्रिय सुरक्षा बलहरूविरूद्ध सिंहा भड़्काउने आशंका उत्पन्न हुन्छ।
भाजपाले गए बुधवार अबेर साँझ मुख्य चुनाउ आयुक्त ज्ञानेश कुमारलाई पठाएको पत्रमा आरोप लगायो, मुख्यमन्त्रीले चुनाउ अवधि राज्यमा तैनाथ केन्द्रिय सशस्त्र पुलिस बलहरूविरूद्ध भड़्काउ बयान दिएकी छन् जसले स्वतन्त्र र निष्पक्ष मतदान प्रक्रियालाई प्रभावित पार्नसक्छ।
सिकायतमा भनिएको छ, गत 7 अप्रेलमा आयोजित एक जनसभामा ममता ब्यनर्जीले कथित रूपमा भनेकी थिइन्, सीआरपीएफका 200 वाहन मानिसहरूमाथि हमला गर्नका लागि आइरहेका छन्। भाजपा अनुसार यस किसिमको बयान जनतामाझ भयपूर्ण वातावरण सृजना गर्न अनि सुरक्षा बलहरूप्रति अविश्वास उत्पन्न गर्ने किसिमको छ।
यस अतिरिक्त भाजपाले गत 3 अप्रेलमा दक्षिण दिनाजपुर जिल्लाको हरिरामपुरमा आयोजित अर्को सभाको पनि उल्लेख गऱ्यो जहाँ मुख्यमन्त्रीले आरोप लगाएकी थिइन्, केन्द्रिय बलहरूका वाहनहरूको माध्यमबाट धन ल्याइँदैछ। भाजपाको भनाइ छ, यस किसिमको आरोपले केन्द्रिय बलहरूको निष्पक्षता र संवैधानिक भूमिकामाथि प्रश्न तेर्साउँछ।
पार्टीले आफ्नो पत्रमा भन्यो, यस किसिमको बयानले कानून व्यवस्थाको स्थितिलाई प्रभावित पार्नसक्छ, मतदाताहरूमा डर उत्पन्न गराउनसक्छ तथा चुनाउ प्रक्रियाको निष्पक्षतालाई कमजोर बनाउनसक्छ।
भाजपाले चुनाउ आयोगसित माग गरेको छ, ममता ब्यनर्जीविरूद्ध तत्काल कारबाही गर्दै उनको चुनाउ प्रचारमाथि केही समयसम्मको लागि रोक लगाइयोस्। साथै राज्यका मुख्य निर्वाचन अधिकारी मनोज कुमार अग्रवाललाई निर्देश दिने माग पनि गरिएको छ कि मुख्यमन्त्रीविरूद्ध भारतीय न्याय संहिता 2023 तथा जन प्रतिनिधित्व अधिनियम 1951-को सम्बन्धित धाराहरू अन्तर्गत प्राथमिकी दर्ता गरियोस्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा