
गान्तोक, 09 अप्रेल (हि.स.)। मुख्यमन्त्री प्रेमसिंह तामाङले राष्ट्रिय राजधानीमा केन्द्रिय मन्त्रीहरुलाई भेट्ने क्रममा आज केन्द्रिय डोनर तथा सञ्चार मन्त्री ज्योतिरादित्य सिन्धियासँग भेट गरे। उनले हिजो प्रधानमन्त्री, वित्त मन्त्री र कृषि मन्त्रीसँग भेट गरेका थिए।
मुख्यमन्त्री तामाङले आज नयाँ दिल्लीमा केन्द्रिय सञ्चार तथा डोनर मन्त्री ज्योतिरादित्य सिन्धियासँग भेट भएको सामाजिक सञ्जालमा बताएका छन्। यस भेटघाटका क्रममा पर्यटन, कृषि तथा पूर्वाधार लगायतका प्रमुख विकास प्राथमिकताहरूमा अर्थपूर्ण छलफल भएको उल्लेख गरेका छन्। साथै, राज्यमा सञ्चालनमा रहेका तथा आगामी परियोजनाहरूको समग्र समीक्षा पनि गरिएको उनले उल्लेख गरेका छन्। मुख्यमन्त्रीले केन्द्रिय मन्त्रीलाई सिक्किममा समग्र र दिगो विकासलाई तीव्रता दिन लक्षित विभिन्न नयाँ पहलहरूको बारेमा जानकारी गराए। उनले भारत सरकारको डोनर मन्त्रालयद्वारा राज्यको प्रगतिका लागि निरन्तर प्रदान हुँदै आएको सहयोगप्रति हार्दिक कृतज्ञता व्यक्त गरे। उनले समावेशी र दिगो विकासको दृष्टिकोण साझा गरे, जसमा जैविक कृषि, युवा सशक्तीकरण तथा विभिन्न विकास परियोजनाहरूको प्रभावकारी कार्यान्वयनमा विशेष जोड दिए।
मुख्यमन्त्रीले उनलाई सिक्किम भ्रमणका लागि हार्दिक निमन्त्रणा पनि दिए। केन्द्रिय मन्त्रीले आफ्नो पूर्ण सहयोगको आश्वासन दिए र राज्य तथा समग्र क्षेत्रको विकासप्रति साझा प्रतिबद्धता व्यक्त गरे।
---------------
हिन्दुस्थान समाचार / बिशाल