जन समस्याहरूको समाधानार्थ निरन्तर संघर्ष गर्नु नै मेरो उद्देश्य होः लीना घोष
जन समस्याहरूको समाधानार्थ निरन्तर संघर्ष गर्नु नै मेरो उद्देश्य होः लीना घोष


बाँकुड़ा, 08 अप्रेल (हि.स.)। बाँकुड़ा विधानसभा क्षेत्रबाट एसयूसीआईकी उम्मेद्वार लीना घोषको राजनीतिक यात्रा संघर्ष अनि चुनौतीपूर्ण रहिआएको छ। हिन्दुस्थान समाचार-सित बातचित गर्दै लीना घोषले आफ्नो जीवन तथा राजनीतिक यात्रासित सम्बन्धित केही रोचक घटनाहरूको खुलासा गरिन्। एघारौं कक्षामा छात्र राजनीतिमाथि शिक्षकद्वारा सोधिएको प्रश्नको जवाफमा एक्लै ‘हो’ भन्ने लीनाले त्यहीँबाट राजनीतिक पथमा कदम राखेकी हुन्।

लीनाको जन्म धनबादमा भएको थियो भने बाल्यकालमै आफ्नी आमासित बाँकुड़ा जिल्लाको जयपुर थाना क्षेत्रको काशीपुर गाउँमा आइन्। प्रारम्भिक शिक्षा त्यहीँकै विद्यालयबाट प्राप्त गरेपछि उच्च शिक्षाको लागि उनले बाँकुड़ा जिल्लाको सारदामणि महिला महाविद्यालमा प्रवेश लिइन्।विद्यार्थी जीवनमै उनले एसयूसीआईको छात्र संगठन डीएसओको माध्यमबाट कलेज छात्र संघको चुनाउमा भाग लिइन्, तथापि तीन वर्षसम्म जीत हासिल भएन।

लीनाका माता-पिता पनि लामो समयदेखिकै एसयूसीआईसित जोड़िँदै आएका छन्। उनीहरूको प्रभावले गर्दा लीनाले पनि पार्टीसित सम्बन्ध राखिन्। विवाह अनि परिवारको जिम्मेवारीबीच पनि उनले श्रमिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्। उनी वर्तमानमा पश्चिम बंगाल आशाकर्मी संघकी जिल्ला सभानेत्रीको पदमा आसिन छन्।

लीना घोषले बताइन्, उनको उद्देश्य शिक्षा, स्वास्थ्य, बिजुली र मूल्य वृद्धि जस्ता आम जन समस्याहरू लिएर लगातार संघर्ष गर्नु हो। उनले भनिन्, “हामी वर्षैभरि आनदोलनको मार्गमा हुन्छौं। हाम्रो पहलले प्राइमरी स्कूलहरूमा अंग्रेजी शिक्षा लागू भयो भने अहिलेसम्म यस राज्यमा स्मार्ट मीटर पूर्ण रूपले जड़ान गर्न सकेको छैन।।”

उनी ग्रामीण एवं शहरी क्षेत्रहरूमा सक्रिय रूपमा जनतासित जोड़िएकी छन् भने यसपालि पनि बाँकुड़ा विधानसभा सीटमा चुनावी अभियानमा जनताको लागि उभिएकी छन्। उनका प्रतिद्वन्द्विहरूमा भाजपाकी नीलाद्रि शेखर दाना र तृणमूलकी शम्पा दरीपा सामेल छन्।

हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा


 rajesh pande