

गान्तोक, 09 अप्रेल (हि.स.)। भारतीय सेनाले 'अपरेशन हिम सेतु' सञ्चालन गरेर लाचेनमा फसेका 1321 जना पर्यटक र 84 जना स्थानीय बासिन्दाहरूलाई सुरक्षित रूपमा उद्धार गरेको छ। उक्त जानकारी सेनाले आज जारी एक प्रेस विज्ञप्तिमा दिएको छ।
उत्तर सिक्किमको लाचेनमा फसेका सबै पर्यटकहरूको 48 घण्टा भित्र सकुशल उद्धार गरिएको छ। लाचेन-चुङथाङ मार्ग अन्तर्गत तारम छुमा पैह्रोले सड़कको एउटा ठूलो भाग ध्वस्त बनाएपछि वाहनहरूको आवागमन अवरुद्ध बनेको थियो। आवागमन अवरुद्ध बनेपछि लाचेन घुम्न गएका पर्यटकहरू फर्किन सकेका थिएनन्।
फसेका पर्यटकहरूको निकासीका लागि भारतीय सेनाले 'अपरेशन हिम सेतु' सञ्चालन गऱ्यो र केवल 48 घण्टाभित्र 1321 जना पर्यटक र 84 जना स्थानीय बासिन्दाहरूलाई सकुशल उद्धार गरेको सेनाले बताएको छ। प्रभावित क्षेत्रमा अस्थायी पैदल पुल निर्माण गरेर सम्पर्क पुनर्स्थापित गरिएको थियो।
सेनाले भनेको छ, उद्धार प्रयासको नेतृत्व भारतीय सेनाको पूर्वी कमाण्ड अन्तर्गत त्रिशक्ति कोरले गरेको थियो। खाना, आश्रय र चिकित्सा सेवा प्रदान गर्न प्रमुख स्थानहरूमा स्वागत केन्द्रहरू स्थापना गरिएको थियो, जबकि आवश्यकतामा परेकाहरूलाई सहयोग गर्न चिकित्सा टोलीहरू तैनाथ गरिएको थियो। सेनाका सवारी साधनहरूले कठिन भूभागमा नागरिक सवारी साधनहरू तान्न पनि सहयोग गरे। यो अपरेशन नागरिक प्रशासन र सीमा सडक संगठनसँगको समन्वयमा कार्यान्वयन गरिएको थियो।
सेनाका एक अधिकारीले भने, 'सेनाहरूले अस्थायी पुलहरू र सुरक्षित क्रसिङ पोइन्टहरू निर्माणसहित सम्पर्क पुनर्स्थापना सुनिश्चित गरे, जसले गर्दा प्रतिकूल परिस्थितिहरूको बावजुद निर्बाध निकासी सम्भव भयो।'
हिन्दुस्थान समाचार / बिशाल