
गान्तोक, 23 मई (हि.स.)। राज्य स्वास्थ्य तथा परिवार कल्याण विभागका सचिव छेवाङ ग्याछो भोटियाको नेतृत्वमा शुक्रवार चिप्सु स्वास्थ्य चौकीको विभागीय निरीक्षण र पर्यवेक्षण भ्रमण गरियो। यो भ्रमण समग्र पूर्वाधार, स्वास्थ्य सुविधाको कार्यप्रणाली, सेवाहरूको तयारी र दुर्गम क्षेत्रमा स्वास्थ्य सेवालाई अझ सुदृढ़ पार्न आवश्यकताहरूको समीक्षा गर्न गरिएको थियो। यसैगरी, आगामी कैलाश मानसरोवर यात्राका भक्तजन र यात्रीहरूका लागि निर्माण गरिएको नयाँ भवनको सदुपयोग कसरी गर्ने भन्ने बारे समीक्षा गर्न पनि भ्रमण गरिएको बताइएको छ।
निरीक्षणको क्रममा टोलीले स्वास्थ्य सुविधाको समग्र अवस्थाको समीक्षा गर्यो, जसमा पूर्वाधार, बिरामी हेरचाह सेवाहरू, सुरक्षा उपायहरू, विद्युतीय प्रणालीहरू, पानी र ढल निकास व्यवस्थाहरू, आवश्यक औषधि र उपकरणहरूको उपलब्धता समावेश थियो। तयारी र भविष्यको उपयोगको मूल्याङ्कन गर्न नवनिर्मित भवन र अनुकूलन कक्षको पनि निरीक्षण गरिएको थियो।
सचिवले स्वास्थ्य सेवा कर्मचारीहरूसँग अन्तरक्रिया गरे र उनीहरूका परिचालन चुनौतीहरूको समीक्षा गरे। साथै सम्बन्धित अधिकारीहरूलाई पूर्वाधार सुधार गर्न, जनशक्ति समर्थनलाई सुदृढ पार्न र प्रयोग नगरिएका पूर्वाधारहरूको उपयोग गर्न निर्देशन दिए। भ्रमणका क्रममा पहिचान गरिएका समस्याहरूको समयमै समाधानको लागि समन्वयित विभागीय कारबाहीमा जोड दिइएको थियो।
यस निरीक्षणले राज्यको दुर्गम र उच्च-उचाई क्षेत्रहरूमा स्वास्थ्य सेवा पूर्वाधारलाई सुदृढ पार्ने र स्वास्थ्य सेवाहरूको गुणस्तर सुधार गर्नेतर्फ सिक्किम सरकारको निरन्तर प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको बताइएको छ।
हिन्दुस्थान समाचार / बिशाल