
- महिला वर्गमा सबिना गिरी र पुरुष वर्गमा प्रयास प्रधान प्रथम
खरसाङ, 24 मई (हि.स.)। आकाशवाणीको गौरवमय 90 वर्ष पुगेको अवसरमा आकाशवाणी खरसाङले म्याराथनको आयोजना गरेको छ। उक्त म्याराथन खरसाङको रोहिणी रोडस्थित जिरोदेखि आकाशवाणी खरसाङ परिसरसम्म (3 किलोमिटर) आयोजना गरिएको थियो।
रोहिणी जिरोबाट बिहान 7.10 बजी प्रमुख अतिथिका रुपमा उपस्थित खरसाङका विधायक सोनाम लामाले झण्डा देखाएर म्याराथन प्रस्थान गराएका थिए। धावकहरू रोहिणी जिरोबाट राष्ट्रिय राजमार्ग हुॅंदै खरसाङ बजार, अस्पताल मोड, वर्द्धमान रोड, मोटर स्ट्याण्ड, पंखाबारी रोड भएर आकाशवाणी खरसाङ परिसरसम्म आइपुगेका थिए।
यस म्याराथनमा आकाशवाणी खरसाङमा कार्यरत् विभिन्न विभागका कर्मचारीहरुले भाग लिएका थिए। म्याराथन अन्तर्गत महिला वर्गमा जम्मा 28 जना र पुरुष वर्गमा 21 जना गरी जम्मा 49 जनाले भाग लिएका थिए। महिला वर्गमा प्रथम सबिना गिरी, दोस्रो रेबिना सुब्बा अनि तेस्रो प्रज्ञा शंकर भए। यसरी नै पुरुष वर्गमा प्रथम प्रयास प्रधान, दोस्रो नर्बु छिरिङ शेर्पा र तेस्रो प्रशान्त छेत्री भएका छन्।
म्याराथनमा प्रमुख अतिथि खरसाङका विधायक सोनाम लामा पनि सहभागी बने। उनले सातौं स्थानमा प्राप्त गरेका थिए। म्याराथनमा सहभागी हुने सबैलाई प्रमुख अतिथि, विशिष्ट अतिथि सञ्जय छेत्री र आकाशवाणी खरसाङका कार्यक्रम प्रमुख राजीव सुब्बाको बाहुलीबाट पारितोषिक वितरण गरियो।
विधायक सोनाम लामाले आफ्नो सम्बोधनमा आकाशवाणीले 90 वर्षको गौरवमय यात्रा तय गर्दै अहिले एआईको समयमा पनि रेडियोले भरपर्दो तरिकाले सूचना सम्प्रेषण गरिरहेको बताए। उनले आकाशवाणीको 90 वर्ष पुगेको अवसरमा आयोजित म्याराथनमा आफु पनि सहभागी हुन पाएकोमा गौरवको अनुभव गरेको बताए। उनले आफु पनि सानैदेखि रेडियो सुन्दै आएको र यसरी रेडियोको कार्यक्रममा सहभागी हुन पाउनु गौरवको विषय रहेको बताए।
आकाशवाणी खरसाङका कार्यक्रम सह निर्देशक राजीव सुब्बाले आकाशवाणीको 90 वर्ष पुगेको अवसरमा आयोजित म्याराथन कार्यक्रम सफल भएको र सबैको सहभागिताको लागि धन्यवाद दिए। उनले अब आकाशवाणी खरसाङको आयोजनामा अन्य कार्यक्रमहरु पनि आयोजना गरिने र ती कार्यक्रममा पनि सबैको सहभागिताको आशा व्यक्त गरेका छन्।
उल्लेखनीय छ, आकाशवाणीको स्थापना सन् 1936 मा भएको थियो र आज पर्यन्त आकाशवाणीले भरपर्दो र विश्वसनीय सूचना प्रसारणको माध्यमका रुपमा कार्य गर्दै आइरहेको छ।
हिन्दुस्थान समाचार / हनोक