
हावड़ा, 24 मई (हि.स.)। जिल्लाको जगाछा थाना क्षेत्रबाट पुलिसले दुई जना बङ्गलादेशी नागरिकहरूलाई पक्राउ गरेको छ। आरोप छ, दुवैले जाली दस्तावेज बनाएर अवैध रूपमा भारतमा बसोबास गर्दै आइरहेका थिए। पक्रा पर्ने आरोपीद्वयको पहिचान रमजान गाजी र आरिफा बेगमको रूपमा भएको छ जसले आफूहरूलाई पति-पत्नी बताएका छन्। उनीहरूको उमेर 35-देखि 37 वर्षको बीचमा रहेको बताइएको छ।
पुलिस सूत्र अनुसार दुवैलाई जगाछा थाना अन्तर्गत उनसानी क्षेत्रबाट पक्राउ गरिएको हो जो उनसानीको माझेरपाड़ा क्षेत्रमा बस्दै आइरहेका थिए। प्रारम्भिक जाँचमा थाहा लागे अनुसार उनीहरूको घर बङ्गलादेशको सातखिरा जिल्लामा अवस्थित छ।
पुलिसले आरोप लगाएको छ, दुवैले जाली पहिचान पत्र बनाएर भारतमा प्रवेश गरे अनि यहीँ बस्दै आइरहेका थिए। दुवै आरोपीलाई आइतवार हावड़ा जिल्ला अदालतमा पेश गरियो।
स्मरण गराइन्छ, पश्चिम बङ्गालमा अवैध अनुप्रवेशको मुद्दा पछिल्लो लामो समयदेखिकै राजनीतिक बहसको विषय रहिआएको छ। भाजपाले लगातार यस मुद्दालाई उठाउँदै आइरहेको छ। राज्यमा नयाँ सरकार गठन भएपछि मुख्यमन्त्री शुभेन्दु अधिकारीले अवैध अनुप्रवेशलाई रोक्न तथा सीमा सुरक्षालाई मजबुत बनाउनको लागि कड़ा कदम उठाउने कुरा गरेका छन्।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा