
कोलकाता, 25 मई (हि. स.)। पश्चिम बङ्गालमा अहिलेघरि भीषण गर्मी औ आद्रताले मानिसहरू हैरान भइरहेको छ। राज्यका दक्षिणी तथा पश्चिमी जिल्लाहरूमा दिनको तापमान 38 डिग्री सेल्सियस लगभग पुगिरहेको छ भने आद्रताको कारणले “फिल्स लाइक” तापमान 45 डिग्री सेल्सियसभन्दा अधिक महसूस भइरहेको छ।
मौसम विभाग अनुसार सोमवार मौसम मुख्यतः शुष्क रहे पनि मङ्गलवारदेखि राज्यका केही भागहरूमा हुन्डरी, मेघ गर्जनसितै वर्षा हुने सम्भावना रहेको छ।
राजधानी कोलकाता र हावड़ाको तापमान 35-38 डिग्री सेल्सियसबीच कायम छ। अत्यधिक आद्रता र धमिलो घामको कारणले मानिसहरूलाई भयानक गर्मीको सामना गर्न परिरहेको छ। यता पश्चिम मेदिनीपुर र बाँकुड़ा जस्ता जिल्लाहरूमा पनि चर्को घाम अनि शुष्क तातो हावाको प्रभाव यथावत छ।
उत्तर बङ्गालका सिलगढ़ी र दार्जीलिङ क्षेत्रको तापमान अपेक्षाकृत कम छ, तर त्यहाँ पनि आद्रता कायम छ। यी क्षेत्रहरूको तापमान 28-33 डिग्री सेल्सियसबीच दर्ता गरिँदैछ।
मौसम विभाग अनुसार 26 मईदेखि मौसमले कोल्टे फेर्नसक्छ। मङ्गलवार बादल बढ़्नको साथै साँझ वा राती सामान्य वर्षा अनि मेघ गर्जन हुने सम्भावना छ। बुधवार र बिहीवार दक्षिण एवं मध्य बङ्गालका केही जिल्लाहरूमा तीव्र हुरीसितै वर्षा हुनसक्छ। वर्षाले गर्दा तापमान सामान्य घट्ने आशा छ।
हिन्दुस्थान समाचार / उष्णता छेत्री शर्मा