
सोरेङ, 25 मई (हि.स.)। सोरेङका जिल्ला निर्वाचन अधिकारी एवं जिल्लापाल धीरज सुवेदीको अध्यक्षतामा आज सोरेङको रुर्बन कम्प्लेक्समा मतदाता नामावलीको विशेष गहन पुनरीक्षण (एसआईआर) सम्बन्धी प्रशिक्षण कार्यक्रम आयोजन गरियो। कार्यक्रमको उद्देश्य निर्वाचन दर्ता अधिकारी (ईआरओ), सहायक निर्वाचन दर्ता अधिकारी (एईआरओ), अतिरिक्त सहायक निर्वाचन दर्ता अधिकारीहरू (एईआरओ), बीएलओ पर्यवेक्षकहरू, बुथ स्तर अधिकारी (बीएलओ) र बुथ स्तर एजेन्ट (बीएलए) लाई विशेष गहन पुनरीक्षण (एसआईआर) सँग सम्बन्धित प्रक्रियाहरूमा अभिमुखीकरण गर्नु थियो।
जिल्लापाल सुबेदीले एसआईआर अभ्यासको महत्त्व र आवश्यकतामा जोड दिॅंदै सबै अधिकारीहरूलाई अत्यन्त गम्भीरता र समर्पणका साथ प्रक्रिया सञ्चालन गर्न आग्रह गरे। उनले संशोधन प्रक्रियामा संलग्न सबै सरोकारवालाहरूबीच उचित समन्वयको आवश्यकतामा जोड दिए र अधिकारीहरूलाई प्रत्येक तहमा शंकाहरूको स्पष्टीकरण खोज्न प्रोत्साहित गरे। एसआईआर अभ्यासको क्रममा बीएलओहरूलाई सतर्क र सक्रिय रहन थप निर्देशन दिइएको थियो।
सोरेङका एडीसी डीआर बिष्टले एसआईआरको बारेमा विस्तृत प्रस्तुति दिए। उनले मतदाता नामावलीमा एसआईआरको आवश्यकताको बारेमा बताउॅंदै यसका प्रमुख विशेषताहरू जस्तै पहिले नै भरिएका गणना फारमहरू, मस्यौदा मतदाता नामावली, सुनुवाई र पुनरावेदनहरूको बारेमा बताए। गणना फारमहरू प्रत्येक मतदातासम्म पुऱ्याउन बीएलओहरूद्वारा घर-घर भ्रमणमा विशेष जोड दिइएको थियो। उनले अन्तिम मतदाता नामावलीको तयारी, प्रशिक्षण र मुद्रणदेखि प्रकाशनसम्मको एसआईआर प्रक्रियाको पूर्ण तालिकाको रूपरेखा प्रस्तुत गरे।
हिन्दुस्थान समाचार / बिशाल