गोविन्दपुरीको पाँचतले भवनमा आगलागी, तीन जनाको मृत्यु, पाँच जनाको उद्धार
गोविन्दपुरीको पाँचतले भवनमा आगलागी, तीन जनाको मृत्यु, पाँच जनाको उद्धार


नयाँ दिल्ली, 12 जून (हि.स.)। दक्षिण-पूर्वी दिल्लीको गोविन्दपुरी क्षेत्रमा गएराति एक पाँचतले आवासीय भवनमा लागेको आगलागीमा तीन जनाको मृत्यु भएको छ। आगो र बाक्लो धुवाँबीच फसेका पाँच जनालाई भने सुरक्षित रूपमा उद्धार गरिएको छ। घटनामा अन्य दुई जना गम्भीर घाइते भएका छन् र उनीहरूको अस्पतालमा उपचार भइरहेको छ।

दक्षिण-पूर्वी जिल्लाका पुलिस उपायुक्त डा. हेमन्त तिवारीका अनुसार, ११ र १२ जूनको मध्यराति करिब २:२४ बजी गोविन्दपुरी पुलिस चौकीलाई तुगलकाबाद एक्सटेन्सनस्थित एक भवनमा आगलागी भएको सूचना प्राप्त भएको थियो। सूचना प्राप्त हुनासाथ स्थानीय पुलिस र थाना प्रमुखको टोली घटनास्थलमा पुगेका थिए। साथै दमकल विभागका चारवटा गाडी र क्याट्स एम्बुलेन्स पनि घटनास्थलमा खटिएका थिए।

आगलागीपछि सम्पूर्ण भवन धुवाँले भरिएको थियो, जसका कारण धेरै मानिसहरू भित्रै फसेका थिए। पुलिस, दमकलकर्मी र उद्धार टोलीले संयुक्त रूपमा उद्धार अभियान सञ्चालन गरी धुवाँमा फसेका आठ जनालाई बाहिर निकाली सफदरजंग अस्पताल तथा एम्स ट्रमा सेन्टरमा पठाए।

पुलिसका अनुसार, घटनामा २२ वर्षीय एक युवक र दुई महिलाको मृत्यु भएको छ। साथै अन्य दुई घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ। घटनापछि सम्पूर्ण क्षेत्रमा त्रासको वातावरण सिर्जना भएको थियो।

भुइँतलामा सर्ट सर्किटबाट आगलागी भएको आशंका, सात मोटरसाइकल जलेर नष्ट

गोविन्दपुरीको तुगलकाबाद एक्सटेन्सनस्थित उक्त भवनमा आगलागी हुनुको सम्भावित कारण प्रारम्भिक अनुसन्धानमा विद्युतीय सर्ट सर्किटलाई मानिएको छ। यद्यपि, पुलिसले विस्तृत अनुसन्धानपछि मात्र वास्तविक कारण पुष्टि हुने जनाएको छ।

प्रारम्भिक अनुसन्धानअनुसार, भवनको भुइँतलामा भएको सर्ट सर्किटबाट आगो शुरु भएको थियो। त्यसपछि आगोले त्यहाँ पार्क गरिएका सातवटा दुईचक्के सवारीसाधनलाई आफ्नो चपेटामा लियो। तीमध्ये चार्जमा राखिएको एउटा विद्युतीय स्कुटर पनि समावेश छ।

सवारीसाधनहरूमा आगो लागेपछि ठूलो मात्रामा धुवाँ फैलिएको थियो, जसका कारण माथिल्ला तलामा बसोबास गरिरहेका मानिसहरू फसेका थिए। दमकल विभाग र पुलिस टोलीले घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिँदै उद्धार कार्य सञ्चालन गरेका थिए।

अधिकारीहरूका अनुसार, फरेन्सिक तथा प्राविधिक अनुसन्धानपछि मात्र आगलागीको वास्तविक कारण स्पष्ट हुनेछ। पुलिसले घटनाको अनुसन्धान जारी राखेको छ र भवनमा अपनाइएका सुरक्षा मापदण्ड, विद्युत् प्रणाली तथा अन्य पक्षहरूको पनि विस्तृत जाँच गरिरहेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande