
जनताको जनआकांक्षा पूरा गर्न जीटीए बाधा नहोस्: अनित थापा
दार्जिलिङ, 17 जून (हि.स.)। गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन (जीटीए) का प्रमुख अनित थापाले जीटीए चीफ तथा सभासद पदबाट राजीनामा दिएको घोषणा गरेका छन्। जनताको दीर्घकालीन आकांक्षा र गोर्खा समुदायको अधिकार प्राप्तिका लागि आफूले यो कदम चालेको उनले दाबी गरेका छन्।
उनले आज जारी एउटा भिडियो सन्देशमा गोर्खाहरूको जनाकांक्षा पूरा हुनु आवश्यक रहेको उल्लेख गर्दै शान्तिपूर्ण, लोकतान्त्रिक तथा संवैधानिक पद्धतिमार्फत सरकारलाई जनभावना सम्बोधन गर्न आग्रह गरेका छन्। उनले जनताको आवाजलाई सम्मान गर्दै समस्याको स्थायी समाधान खोज्न सबै पक्षलाई एकजुट हुन अपीलसमेत गरेका छन्।
उनले सबै सभासदहरुलाई आग्रह गर्दै भने, यही सही समय हो जीटीए छोड्ने, कारण अहिले केन्द्र र राज्यमा डबल इञ्जिनको सरकार छ। जनआकांक्षा पूरा हुने सबैले आशा गरेको छ। सरकारले दिन्छु भनेकाले जनताको जनआकांक्षा पूरा गर्न जीटीए बाधा नहोस्।
थापाको राजीनामापछि पहाडको राजनीतिक वृत्तमा नयाँ बहस शुरु भएको छ। यस घटनाले आगामी दिनमा पहाडको राजनीतिक समीकरण र गोर्खा मुद्दाको दिशामा कस्तो प्रभाव पार्नेछ भन्ने विषयमा चासो बढेको छ।
यसैबीच विभिन्न राजनीतिक दल तथा सामाजिक सङ्गठनहरूले थापाको निर्णयप्रति प्रतिक्रिया दिन थालेका छन्। पहाडको भविष्य र गोर्खा जनाकांक्षाको सम्बोधनका विषयमा व्यापक छलफल हुने अपेक्षा गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / हनोक