
दार्जिलिङ, 17 जून (हि.स.)। अनित थापाले जीटीए प्रमुख कार्यपाल र सभासदको पदबाट राजीनामा दिएपछि भाजपा दार्जिलिङ जिल्ला अध्यक्ष सञ्जीव लामाले प्रतिक्रिया दिएका छन्।
उनले बिजनबारीमा पत्रकारहरुलाई सम्बोधन गर्दै भने, 'जीटीए प्रमुख अनित थापाले राजीनामा दिनु नै पर्ने बाध्यताको अवस्था बनेको थियो। बल्ल अनित थापाले राजीनामा दिएका छन्। तर, उनलाई राजीनामा दिनु भनेर हामी कसैले पनि प्रेसर दिएका थिएनौं। सरकारले पनि प्रेसर दिएको थिएन। उहाँहरुको बोर्डले निर्णय गरेको हुनसक्छ। तर, अब जीटीएमा कसैले पनि राल नकाड्नु होला। सरकारले प्रशासक राखेर जीटीए चलाउनु सक्छ।
उनले भने, जीटीएको निम्ति कसैले होडबाजी नगर्नु होला। 'मुखमा राम राम राम, बगलीमा छुरा नहोस्। जीटीए चाहिंदैन भन्छौं भने जीटीएमा राल नकाड्नु होला।'
लामाले अघि भने, 'अब पहाडमा जीटीए रहिरहने कुनै आवश्यक छैन। जीटीए व्यवस्था जनताको लागि अभिश्राप हो। जीटीएमा भएको भ्रष्टाचारको छानबीन हुनुपर्छ। तर छानबीन अनित थापाको पालादेखि मात्रै होइन, पहिलेको जीटीएदेखि नै जाँच हुनुपर्छ। किनभने बिमल गुरुङको पालादेखि नै जीटीएमा आएको पैसाको कुनै हर हिसाब छैन। जीटीएको भ्रष्टाचारमा सभासदहरु र सरकारी अधिकारीहरु पनि पर्न सक्छन्।'
---------------
हिन्दुस्थान समाचार / हनोक