
कालेबुङ, 17 जून (हि.स.)। कालेबुङ-१ पञ्चायत समिति सभापति ममता गुरुङले पनि पञ्चायत समितिको सभापति पदबाट राजीनामा दिएकी छन्।
आफ्नो राजीनामा विषयमा बोल्दै ममता गुरुङले भनिन्, 'परिवर्तित राजनीतिक परिस्थितिमा पहाडको भविष्य तथा भारतीय गोर्खाहरूको दीर्घकालीन आकांक्षा, अधिकार र पहिचानको मुद्दालाई नयाँ दिशा दिन कालिम्पोङ १ पञ्चायत समितिको सभापति पदबाट राजीनामा दिइरहेको छु।' उनले सभापतिको रूपमा सेवा गर्ने अवसर प्रदान गरेकोमा सम्पूर्ण जनसमुदाय, समर्थकहरू, शुभेच्छुकहरू र पञ्चायत समितिका २९ जना सदस्य सदस्याहरुहरूप्रति हार्दिक कृतज्ञता व्यक्त गरेकी छन्।
उनले भनिन्, 'यो जिम्मेवारीले मलाई धेरै कुरा सिकायो र जनताको सेवा गर्ने अमूल्य अवसर प्रदान गर्यो। आफ्नो कार्यकालमा मैले समुदाय र क्षेत्रको विकासका लागि इमानदारी, निष्ठा र समर्पणका साथ काम गर्ने प्रयास गरेकी छु।' उनले अब पञ्चायत समितिको नेतृत्व सम्हाल्ने व्यक्तिलाई समितिको एक जिम्मेवार सदस्यको रूपमा पूर्ण सहयोग र रचनात्मक समर्थन प्रदान गर्ने बताएकी छन्।
उनले भनिन्, 'पदभन्दा माथि जनताको हित, क्षेत्रको विकास र हाम्रो सामूहिक लक्ष्यहरू हुन्छन् भन्ने मेरो दृढ विश्वास छ। पदबाट अलग भए पनि भारतीय गोर्खाहरूको अधिकार, सम्मान, पहिचान र समृद्धिको पक्षमा मेरो प्रतिबद्धता यथावत् रहनेछ। जनताको सेवा गर्ने मेरो यात्रा निरन्तर जारी रहनेछ।'
हिन्दुस्थान समाचार / हनोक