अनु छेत्रीले दिइन् खरसाङ पञ्चायत समितिको सभापति पदबाट राजीनामा
अनु छेत्री


खरसाङ, 17 जून (हि.स.)। खरसाङ पञ्चायत समितिकी सभापति अनु छेत्रीले आफ्नो पदबाट राजीनामा दिएकी छन्। जीटीए प्रमुखको पदबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रिय संस्थापक अध्यक्ष अनित थापाले राजीनामा दिए लगत्तै अनु छेत्रीले पनि समितिको सभापति पदबाट राजीनामा दिएकी छन्।

अनु छेत्रीले आज एउटा भिडियो जारी गर्दै खरसाङ पञ्चायत समिति सभापतिको आफ्नो पदबाट राजीनामा दिएको बताएकी छन्। उनले भनिन्, 'राज्यमा नयाँ सरकार गठन भएपछि गोर्खा जातिको दीर्घकालीन माग पूरा गर्ने राम्रो मौका रहेको छ। किनभने केन्द्र र राज्यमा डबल इञ्जिनको सरकार बनिएको छ। जनताले पनि यसैको लागि भाजपालाई जिताएको र न्याय पाउने आशा गरेका छन्।'

उनले अघि भनिन्, 'समस्त पहाडले 2009 देखि नै भाजपालाई समर्थन गर्दै आएको छ। अब भाजपाले गोर्खा जातिलाई न्याय दिने समय आएको छ। पार्टी अध्यक्ष अनित थापाले जीटीए प्रमुख र सभासद पदबाट पनि राजीनामा दिएर गोर्खा जातिको माग पूरा गर्नका लागि सरकारलाई बाटो खुल्ला गरिदिएको छ।'

उनले अब भाजपाको नयाँ सरकारले गोर्खा जातिलाई अवश्य पनि न्याय दिनेछ भन्ने आशा व्यक्त गरेकी छन्। सोही आशा पूरा होस् भनेर नै आफुले पनि पदबाट राजीनामा दिएकी बताएकी छन्।

हिन्दुस्थान समाचार / हनोक


 rajesh pande