हिमाचल प्रदेशको चम्बामा बोलेरो भीरबाट खस्दा सात जनाको मृत्यु
दुर्घटना स्थलमा राहत कार्य


शिमला, १८ जून (हि.स.)। हिमाचल प्रदेशको चम्बा जिल्लामा भएको एक भीषण सड़क दुर्घटनामा एउटै गाउँका सात जनाको ज्यान गएको छ। मृतकमध्ये तीन जना दाजुभाई तथा एक दम्पती पनि रहेका छन्। मृतकहरूमा चार पुरुष र तीन महिला छन्।

यो दुर्घटना बुधबार अबेर राति चुराह विधानसभा क्षेत्रअन्तर्गत पुखरी-मसरून्ड मार्गको माणी जिरो नजिक भएको हो, जहाँ एक बोलेरो गाडी अनियन्त्रित भई भीरबाट लगभग ५०० मिटर तल खस्यो। दुर्घटना यति भयावह थियो कि गाडी पूर्ण रूपमा क्षतिग्रस्त भएको छ र त्यसमा सवार सबै सात जनाको घटनास्थलमै मृत्यु भयो।

मृतकहरूको पहिचान चुन्नी लाल (६५), देवी लाल (६२), बबली देवी (४५), मोती राम (५०), अनीता कुमारी (२०), कुन्ता देवी (५३) र मनोहर लाल (३४) का रूपमा भएको छ। चुन्नी लाल, देवी लाल र मोती राम दाजुभाई थिए।

प्राप्त जानकारीअनुसार, पंचायत कुठेड़को महल गाउँका यी बासिन्दाहरू मुण्डन संस्कार कार्यक्रममा सहभागी भएर घर फर्किरहेका बेला दुर्घटनामा परेका हुन्। उनीहरू काकड़ोथा गाउँमा आयोजित धाममा सहभागी भई अबेर राति घर फर्कँदै थिए।

दुर्घटनापछि महल गाउँ तथा आसपासका क्षेत्रमा शोकको लहर छाएको छ। एउटै गाउँका सात जनाको एकैसाथ मृत्यु भएपछि सम्पूर्ण क्षेत्र स्तब्ध बनेको छ।

पुलिसका अनुसार, दुर्घटना राति करिब २ बजी भएको थियो। बोलेरो अचानक चालकको नियन्त्रणबाट बाहिरिएर सडकबाट तल गहिरो भीरमा खसेको थियो। घटनाको जानकारी पाएलगत्तै स्थानीयवासीले उद्धार कार्य शुरु गरेका थिए। अन्धकार र भीरालो भू-भागका कारण उद्धार कार्य निकै कठिन भएको थियो। पछि पुलिस र स्थानीयवासीको सहयोगमा सबै शव भीरबाट निकालियो।

चम्बाका प्रहरी अधीक्षक विजय सकलानीले दुर्घटनामा सात जनाको मृत्यु भएको पुष्टि गर्दै अधिकांश मृतक एउटै परिवारका सदस्य रहेको बताए। उनका अनुसार, सबै मृतक पंचायत कुठेड़को महल गाउँका बासिन्दा थिए।

पुलिसले आज बिहान दुर्घटनाको सूचना प्राप्त गरेपछि राहत तथा उद्धार कार्य सञ्चालन गरेको थियो। सबै शव पोस्टमार्टमका लागि पण्डित जवाहरलाल नेहरू सरकारी चिकित्सा कलेज चम्बा पठाइएको छ। पुलिसले मुद्दा दर्ता गरी दुर्घटनाको कारणबारे अनुसन्धान शुरु गरेको छ। प्रारम्भिक अनुसन्धानमा गाडी अनियन्त्रित भएकै कारण दुर्घटना भएको अनुमान गरिएको छ, यद्यपि पुलिसले सबै सम्भावित पक्षहरूको अध्ययन गरिरहेको छ। स्थानीयवासीका अनुसार, दुर्घटनास्थलमा पर्याप्त क्र्यास ब्यारियर नभएकाले दुर्घटनाको गम्भीरता बढेको हुन सक्छ।

उल्लेखनीय छ, चम्बा जिल्ला पछिल्ला केही महिनादेखि लगातार ठूला सडक दुर्घटनाहरूको साक्षी बन्दै आएको छ। गत २९ मईमा बैरागढ़-साच पास-किलाड़ मार्गमा इनोभा गाडी दुर्घटनाग्रस्त हुँदा छत्तीसगढ़का आठ पर्यटकको मृत्यु भएको थियो। त्यसभन्दा अघि १० मईमा भएको अर्को सडक दुर्घटनामा गुजरातका छजना पर्यटकले ज्यान गुमाएका थिए।

हिमाचल प्रदेशमा प्रत्येक वर्ष सडक दुर्घटनाका कारण करिब एक हजार जनाको मृत्यु हुने गरेको छ।

---------------

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande