
नयाॅं दिल्ली, 18 जून (हि.स.)।भारतीय प्रौद्योगिकी संस्थान दिल्ली (आईआईटी) ले क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ २०२७ मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वस्तरमा ११८औँ स्थान हासिल गरेको छ। गत वर्षको १२३औँ स्थानको तुलनामा यसपटक संस्थानले आफ्नो र्याङ्किङमा सुधार गरेको हो। यससँगै आईआईटी दिल्ली लगातार देशकै उत्कृष्ट शैक्षिक तथा अनुसन्धान संस्थानका रूपमा कायम रहेको छ।
क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ २०२७ अनुसार, आईआईटी दिल्लीले भारतीय संस्थानहरूले अहिलेसम्म हासिल गरेको उच्चतम विश्व र्याङ्किङको बराबरी पनि गरेको छ। संस्थानको र्याङ्किङमा सुधार हुनुका पछाडि विभिन्न प्रमुख प्रदर्शन सूचकहरूमा भएको उल्लेखनीय प्रगति मुख्य कारण रहेको छ।
‘एम्प्लोयर रेपुटेशन’ श्रेणीमा आईआईटी दिल्लीले ११ स्थानको छलाङ मार्दै विश्वस्तरमा ३९औँ स्थान प्राप्त गरेको छ। यो सूचकले विश्वभरिका रोजगारदाताहरूले कुन संस्थानका विद्यार्थीहरूलाई रोजगारका लागि सबैभन्दा बढी सक्षम र तयार मान्छन् भन्ने मूल्याङ्कन गर्दछ।
त्यसैगरी, ‘एम्प्लोयमेन्ट आउटकम्स’ श्रेणीमा संस्थानले ६० स्थानको उल्लेखनीय सुधार गरेको छ। यो सूचकले स्नातकहरूको रोजगारी क्षमता तथा विभिन्न क्षेत्रमा उनीहरूको नेतृत्व र प्रभावलाई मापन गर्दछ।
‘साइटेसन्स प्रति फ्याकल्टी’ सूचकमा पनि आईआईटी दिल्लीले २६ स्थानको सुधार गरेको छ। यसले विश्वविद्यालयद्वारा गरिएको वैज्ञानिक अनुसन्धानको गुणस्तर र प्रभावको मूल्याङ्कन गर्दछ।
यस उपलब्धिबारे आईआईटी दिल्लीका योजना डिन तथा र्याङ्किङ सेल प्रमुख प्रो. सोमनाथ बैद्य रायले संस्थान विश्वस्तरीय र किफायती प्राविधिक शिक्षा प्रदान गर्न तथा विश्वभरका अनुसन्धानकर्ताहरूको पहिलो रोजाइ बन्न प्रतिबद्ध रहेको बताए। उनले नयाँ पाठ्यक्रम, आधुनिक पूर्वाधार तथा बढ्दो अन्तरराष्ट्रिय सहकार्यले आगामी वर्षहरूमा संस्थानको गुणस्तर र प्रभावलाई अझ सुदृढ़ बनाउने विश्वास व्यक्त गरे। साथै, र्याङ्किङ संस्थानको लक्ष्य नभई उसले गरेको कार्यको परिणाम मात्र भएको उनको भनाइ थियो।
पछिल्ला चार वर्षमा आईआईटी दिल्लीले आफ्नो विश्व र्याङ्किङमा ७९ स्थानको सुधार गरेको छ। सन् २०२४ मा संस्थान १९७औँ स्थानमा रहेको थियो भने अहिले ११८औँ स्थानमा पुगेको छ।
उल्लेखनीय छ, मार्च २०२६ मा प्रकाशित क्यूएस वर्ल्ड युनिभर्सिटी र्याङ्किङ बाई सब्जेक्टमा आईआईटी दिल्लीका धेरै इन्जिनियरिङ तथा प्रविधि विषयहरू विश्वका शीर्ष ५० विषयभित्र परेका थिए। तीमध्ये इलेक्ट्रिकल इन्जिनियरिङ, मेकानिकल इन्जिनियरिङ, कम्प्युटर साइन्स, केमिकल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ प्रमुख छन्।
इन्जिनियरिङ तथा टेक्नोलोजी श्रेणीमा आईआईटी दिल्लीले विश्वस्तरमा ३६औँ स्थान हासिल गर्दै भारतमा आफ्नो अग्रणी स्थान कायम राखेको थियो।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी