मोहर्रमपछि दरभंगामा तनाउ, हिन्दूहरूको घरमा तोडफोड, ६ जना पक्राउ
मोहर्रमपछि दरभंगामा तनाउ, हिन्दूहरूको घरमा तोडफोड, ६ जना पक्राउ


दरभंगा, २८ जून (हि.स.)। बिहारको दरभंगा जिल्लाको कमतौल थाना क्षेत्रअन्तर्गत बरिऔल चौकमा मोहर्रमका अवसरमा ताजिया विसर्जन तथा पहलाम सम्पन्न भएपछि हिंसा र तोडफोडको घटना भएको छ। घटनापछि क्षेत्रमा तनाउ फैलिएको छ। पुलिसले ६ जना आरोपीलाई पक्राउ गरेको छ भने थप पुलिस बल परिचालन गरी अवस्था नियन्त्रणमा राखिएको छ।

प्रत्यक्षदर्शीका अनुसार, आइतबार राति केही उपद्रवीहरूले बरिऔल चौक तथा आसपासका क्षेत्रमा रहेका धेरै घर, पसल र एउटा मन्दिर परिसरमा तोडफोड गरे। उपद्रवीहरूले मन्दिरमा क्षति पुर्याइएको, पसलका सिसा फुटाइएको तथा क्षेत्रमा जडान गरिएका सीसीटीभी क्यामेराहरू पनि क्षतिग्रस्त बनाइएको बताइएको छ। धेरै घरका एस्बेस्टसका छाना पनि भत्काइएका छन्। यस क्रममा बाटोमा भेटिएका केही व्यक्तिमाथि कुटपिट गरिएको, जसमा कम्तीमा ६ जना घाइते भएका छन्।

सूचना प्राप्त हुनासाथ पुलिस घटनास्थलमा पुगेको थियो र अवस्था नियन्त्रणमा लिएको थियो। घाइतेहरूलाई प्राथमिक उपचारपछि रेफरल अस्पताल पठाइएको छ। पुलिसले ६ जनालाई पक्राउ गरेको छ भने अन्य आरोपीहरूको खोजीमा छापा मार्ने कार्य जारी राखेको छ।

पुलिसका अनुसार, प्रारम्भिक अनुसन्धानमा यो घटना करिब चार वर्षअघि भएको अन्तरधार्मिक प्रेम विवाहसँग सम्बन्धित विवादसँग जोडिएको पाइएको छ। सम्बन्धित युवक मोहर्रमको कार्यक्रममा पुगेका बेला केही व्यक्तिसँग उनको भनाभन र हात हालाहाल भएको थियो। त्यसपछि केही व्यक्ति उनलाई खोज्दै उनको गाउँ पुगेका थिए, जसपछि हिंसा र तोडफोडको घटना भएको बताइएको छ।

कमतौलका एसडीपीओ शुभेन्द्र कुमार सुमनले बरिऔल तथा आसपासका क्षेत्रमा अहिले अवस्था पूर्ण रूपमा नियन्त्रणमा रहेको बताए। प्रशासनले सबैलाई शान्ति, सद्भाव र आपसी भाइचारा कायम राख्न आग्रह गर्दै घटनामा संलग्न सबै दोषीविरुद्ध कडा कानुनी कारबाही गरिने स्पष्ट गरेको छ।

हिन्दुस्थान समाचार / भवानी थामी


 rajesh pande