
नयाँ दिल्ली, २८ जून (हि.स.)। लोकसभा अध्यक्ष ओम बिरला, प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न नेताहरूले आज भारतका पूर्व प्रधानमन्त्री तथा भारत रत्न पीवी नरसिंह रावलाई जयन्तीका अवसरमा श्रद्धाञ्जली अर्पण गरेका छन्।
लोकसभा अध्यक्ष ओम बिरलाले सामाजिक सञ्जाल एक्समा सन्देश जारी गर्दै भने, “पूर्व प्रधानमन्त्री तथा भारत रत्न स्वर्गीय पीवी नरसिंह रावको जयन्तीमा हार्दिक श्रद्धाञ्जली। देशको प्रगतिका लागि नीति निर्माणमा उहाँले पुर्याउनुभएको योगदान सधैं स्मरणीय रहनेछ।”
प्रधानमन्त्री नरेन्द्र मोदीले पनि पूर्व प्रधानमन्त्री रावप्रति श्रद्धाञ्जली अर्पण गर्दै भारतको इतिहासको महत्वपूर्ण चरणमा उनले राष्ट्रको प्रगतिमा उल्लेखनीय योगदान दिएको बताए। उनले रावलाई कुशल प्रशासक, विद्वान तथा भारतको विविध संस्कृति र परम्पराबारे गहिरो ज्ञान भएका व्यक्तित्वका रूपमा स्मरण गरे।
रक्षामन्त्री राजनाथ सिंहले पीवी नरसिंह रावलाई दूरदर्शी नेता र कुशल राजनेता भन्दै भारतको आर्थिक विकास यात्रामा उनको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए। उनले राष्ट्रका लागि उनले गरेको योगदान सधैं स्मरणीय रहने उल्लेख गरे।
कांग्रेस अध्यक्ष मल्लिकार्जुन खरगेले राव नेतृत्वको सरकारले शुरु गरेको आर्थिक उदारीकरणले भारतको विकासलाई नयाँ गति दिएको, मध्यम वर्गका लागि अवसरहरू विस्तार गरेको तथा देशलाई दीर्घकालीन विकासको मार्गमा अघि बढाएको बताए। उनले रावको कार्यकालमा भारतको परमाणु कार्यक्रमले उल्लेखनीय प्रगति गरेको र ऐतिहासिक ‘लुक ईस्ट’ नीति सहित दूरदर्शी कूटनीतिक पहलहरू अघि बढाइएको उल्लेख गर्दै राष्ट्र निर्माणमा उनको योगदान सदैव स्मरणीय रहने बताए।
केन्द्रिय कोइला तथा खानी मन्त्री जी. किशन रेड्डीले तेलङ्गानाका गौरवशाली सपूत तथा पूर्व प्रधानमन्त्री भारत रत्न पीवी नरसिंह रावलाई जयन्तीका अवसरमा सम्झँदै उनी दूरदर्शी नेता, विद्वान र उत्कृष्ट प्रशासक थिए भनी बताए। उनले देशको प्रगति र हैदराबाद मुक्ति आन्दोलनमा रावको योगदान पनि उल्लेखनीय रहेको बताए।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी