
नयाँ दिल्ली, २९ जून (हि.स.)। भारत मौसम विज्ञान विभाग (आईएमडी) का अनुसार, राष्ट्रिय राजधानी दिल्लीमा सोमबार मेघगर्जनसहित हल्का वर्षा हुने सम्भावना रहेको छ। विभागले दक्षिण-पश्चिम मनसुन आगामी पाँचदेखि छ दिनभित्र दिल्ली पुग्न सक्ने जनाएको छ। साथै उत्तरी अरब सागर, उत्तर प्रदेश, उत्तराखण्ड, हिमाचल प्रदेश, जम्मू-कश्मीर, लद्दाख तथा दक्षिण-पूर्वी राजस्थानका बाँकी क्षेत्रमा पनि आगामी दुई-तीन दिनभित्र मनसुन थप अघि बढ्न अनुकूल अवस्था रहेको बताइएको छ।
आइतबार दिल्लीमा पछिल्ला दुई वर्षयताकै सबैभन्दा गर्मी दिन रेकर्ड गरिएको थियो। न्यूनतम तापक्रम ३१.१ डिग्री सेल्सियस (सामान्यभन्दा ३.२ डिग्री बढी) तथा अधिकतम तापक्रम ४१.८ डिग्री सेल्सियस मापन गरियो। अत्यधिक आर्द्रताका कारण मानिसहरूले करिब ५०.७ डिग्री सेल्सियसजत्तिको ताप महसुस गरेका थिए।
स्काइमेटका अनुसार, अनुकूल अवस्था कायम रहेमा जुलाई ४ सम्म मनसुन दिल्ली पुग्न सक्छ। हाल पाकिस्तानबाट आउने सुख्खा हावा र अरब सागरबाट आउने आर्द्र हावा आपसमा मिसिएर बादल बने पनि पर्याप्त आर्द्रता नहुँदा व्यापक वर्षा हुन सकेको छैन।
यसैबीच पूर्वोत्तर भारतका राज्यहरूमा निरन्तर भारी वर्षा र बाढीका कारण जनजीवन प्रभावित भएको छ। अरुणाचल प्रदेशको केयी पेनयोर क्षेत्रमा आएको आकस्मिक बाढीमा तीन जनाको मृत्यु भएको छ। राज्यका १० जिल्ला प्रभावित भएका छन्। धेरै घर तथा पूर्वाधारमा क्षति पुगेको छ भने उद्धार तथा राहत कार्य जारी रहेको छ। सोमबारसम्म २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान गरिएको छ।
सिक्किमको जङ्गु क्षेत्रमा भारी वर्षाका कारण फिदाङ र साङ्कालाङलाई जोड्ने बेली पुल बगाएको छ, जसका कारण उक्त क्षेत्र राज्यका अन्य भागसँग सम्पर्कविहीन भएको छ। यद्यपि कुनै मानवीय क्षतिको समाचार प्राप्त भएको छैन।
हिमाचल प्रदेशमा जुलाई ४ सम्म वर्षाको क्रम जारी रहने अनुमान गरिएको छ। जून ३० देखि जुलाई ४ सम्म प्रदेशका विभिन्न स्थानमा ३० देखि ४० किलोमिटर प्रतिघण्टाको गतिमा हावाहुरीसहित मेघगर्जन र वर्षा हुने चेताउनी जारी गरिएको छ। साथै जुलाई २ देखि उत्तर-पश्चिम भारतमा नयाँ पश्चिमी विक्षोभ सक्रिय हुने सम्भावना रहेको छ।
पञ्जाब र हरियाणामा जून २९, जुलाई १ र २ मा छिटफुट वर्षाको सम्भावना रहेको छ। राजस्थानको झुन्झुनु जिल्लाको पिलानीसहित केही स्थानमा आइतबार हल्का वर्षा भएको थियो। जुलाई २ देखि दक्षिण-पूर्वी तथा पूर्वी राजस्थानमा वर्षा गतिविधि बढ्ने सम्भावना व्यक्त गरिएको छ।
जम्मूका मैदानी क्षेत्रमा पनि सोमबार मनसुनपूर्व वर्षा, मेघगर्जन र तीव्र हावाहुरी चल्ने सम्भावना रहेको छ। उता उत्तराखण्डका पहाडी जिल्लाहरूमा मेघगर्जन, चट्याङ, भारीदेखि अति भारी वर्षा तथा तीव्र हावाहुरीको सम्भावनालाई ध्यानमा राख्दै पहेंलो सतर्कता (येलो अलर्ट) जारी गरिएको छ।
---------------
हिन्दुस्थान समाचार / भवानी थामी