
मुम्बई, 29 जून (हि.स.)। महाराष्ट्रको पुणे जिल्लाको भोरस्थित नसरपुर क्षेत्रमा साढे तीन वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गरेको अत्यन्त संवेदनशील घटनामा विशेष अदालतले सोमबार दोषी भीमराव कांबले (६५) लाई फाॅंसीकाे सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश एसआर कांबलेले उक्त फैसला सुनाए। दोषीले अदालतमा आफ्नो अपराध स्वीकार गरेको थियो। यो घटना १ मई, २०२६ मा नसरपुरस्थित एक गाईगोठ (गौशाला) मा भएको थियो। घटनाको केवल ६० दिनभित्र फैसला सुनाइनु महाराष्ट्रको न्यायिक इतिहासमा पहिलो तथा ऐतिहासिक निर्णय मानिएको छ।
अदालतले आफ्नो निर्णयमा दोषीको अपराध मृत्युदण्ड योग्य रहेको उल्लेख गर्दै देशमा कानुनको शासन रहेको र अपराध जति गम्भीर हुन्छ, सजाय पनि त्यति नै कडा हुनुपर्ने जनाए। सुनुवाइका क्रममा सरकारी वकिल अजय मिश्र र जाॅंच अधिकृत जयमाला पवार अदालतमा उपस्थित थिए। अदालत बाहिर ठूलो संख्यामा सर्वसाधारण भेला भएका थिए, जसका कारण कडा सुरक्षा व्यवस्था गरिएको थियो।
घटनाअनुसार, मई २०२६ मा दोषीले नसरपुरमा साढे तीन वर्षीया बालिकालाई एक गौशालामा लगेर बलात्कार गरेको र त्यसपछि निर्ममतापूर्वक हत्या गरेको थियो। बालिका लामो समयसम्म घर नफर्किएपछि आफन्तहरूले खोजी गर्दा उनको शव गौशालामा फेला परेको थियो। घटनाले सम्पूर्ण क्षेत्र स्तब्ध बनेको थियो।
घटनापछि पुलिसले तत्काल जाॅंच सुरु गरेको थियो। क्षेत्रका सीसीटीभी फुटेजमा दोषीले बालिकालाई लगिरहेको दृश्य देखिएपछि पुलिसले करिब डेढ घण्टामै उनलाई पक्राउ गरेको थियो।
जाॅंचलाई तीव्र बनाउन पुणे ग्रामीण पुलिस अधीक्षक सन्दीप सिंह गिलको नेतृत्वमा विशेष जाॅंच टोली गठन गरिएको थियो। जाॅंच अधिकृत विजयमाला पवारसहितको टोलीले सीसीटीभी फुटेज, डीएनए नमुना, चिकित्सकीय प्रतिवेदन तथा प्रत्यक्षदर्शीहरूको बयानका आधारमा जाॅंच प्रतिवेदन तयार गरेको थियो। जनआक्रोशलाई मध्यनजर गर्दै पुलिसले केवल १६ दिनमै करिब १,२०० पृष्ठको आरोपपत्र अदालतमा पेश गरेको थियो।
त्यसपछि विशेष अदालतले दैनिक तथा ‘इन-क्यामेरा’ सुनुवाइ सञ्चालन गरेको थियो। मुद्दामा पीडित परिवार, प्रत्यक्षदर्शी, जाॅंच अधिकृत, चिकित्सकीय विज्ञलगायत ५५ जना साक्षीको बयान लिइएको थियो। साथै सीसीटीभी फुटेज, डीएनए प्रतिवेदन र अन्य वैज्ञानिक प्रमाण अदालतमा पेश गरिएको थियो।
फैसला सुनाउँदै न्यायाधीशले दोषीलाई कानुनी प्रक्रियाअनुसार उच्च अदालतमा उक्त सजायविरुद्ध पुनरावेदन गर्ने अधिकार रहेको पनि उल्लेख गरे।
हिन्दुस्थान समाचार / भवानी थामी